दसैंअघि नै मुख्य २२ सहरमा टेलिकमको फोरजी
मातृभूमी संवादाता । ८ असोज काठमाण्डौ
नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैंअगावै फोरजी–एलटीई सेवा विस्तार गर्ने भएको छ । कम्पनीले अगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ अहिले काम तीव्र गतिमा अगाडि बढाएको छ । पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नहरने गरी ‘कभरेज’ पु¥याउँदै छ । टेलिकमको फोरजी–एलटीई परियोजना १८ अर्ब रुपैयाँ लागतको हो ।
गत वर्षको माघ अन्तिम साता फोरजी–एलटीई सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडान कार्यका लागि चिनियाँ सरकारी स्वामित्वको जेडटीई कर्पाेरेसन र हङकङको सीसीएसआई कम्पनीबीच सम्झौता भएको थियो । एक वर्षभित्र काम सम्पन्न गर्ने गरी भएको उक्त सम्झौताको समय अवधि सकिन अब चार महिनामात्रै बाँकी छ । निर्धा्रित समयमा काम सक्न यतिबेला टेलिकमको काम तीव्र गतिमा भइरहेको छ । ‘निर्धारित समयभन्दा छिटो काम सम्पन्न गर्न अहिले १८ घन्टासम्म काम भएको छ, शुक्रबारसम्म फोरजीको एउटा तस्बिर आउँछ,’ कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्, ‘मुख्य सहरमा साइटहरू तयारी अवस्थामा छन् तर कोर नेटवर्कमा केही काम बाँकी छ ।’ टेलिकमले टावर उपकरण ‘ई नोड बी’ ३ सयभन्दा धेरै ठाउँमा गरिसकेको छ भने अब ट्रान्समिसन लिंकको काममा जोड दिएको छ । दसैंअघि एकैपटक १ सय ४१ ‘ई नोड बी’बाट एकैसाथ देशका व्यावसायिक ठाउँबाट सेवा विस्तार गर्न लागेको छ । पूर्ण परियोजनाका लगि ६ हजार ७ सय ई नोड वी जडान गर्नुपर्नेछ । टूजी र थ्रीजीमा बीटीएस टावर जडान भएकोमा फोरजीका लागि जडान भएका टेलिकम उपकरणका नाम ई नोड वी हो । कोर नेटवर्क काठमाडौं र बुटवलमा राखिने भएको छ ।
टेलिकमले फाउन्डेसन, विद्युत् जडान, घरवाहकसँगको सम्झौता लगायत जग्गा लिजका लागि धेरै समय लाग्ने काम सम्पन्न गरिसकेकोले अब बाँकी कोर कामका लागि मात्रै भएको जनाएको छ । यो परियोजनाबाट टेलिकमले भ्वाइस ओभर एलटीई (भोल्टीई) तर्फ मात्रै ६५ लाख ग्राहक थप गर्ने लक्ष्य लिएको छ । यसमा इन्टरनेटमार्फत ग्राहकले भ्वाइस सेवा लिन सक्नेछन् । अन्य विभिन्न सेवाको गरी यस परियोजनाको क्षमता ४५ मिलियनभन्दा धेरै ग्राहक धान्न सक्ने बन्नेछ ।
टेलिकमले यतिवेला देशका विभिन्न ठाउँमा फोरजी सेवाको परीक्षण कार्य गरेको छ । शुक्रबारमात्रै धनगढीमा फोरजीको नेटवर्क परीक्षण गरेको कम्पनीले त्यहाँ अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त गरेको जनाएको छ । अन्य ठाउँमा पनि जानकारी लिँदै सेवाको परीक्षण गर्दै गरेको जानकारी दिंदै प्रवन्ध निर्देशक अधिकारीले यही गतिमा काम भएमा सम्झौताको समयभन्दा पनि छिटो सम्पन्न हुनेमा आशावादी छन् । टेलिकमले अहिले दिन लागेको फोरजी सेवा १८ सय र ८ सय व्याण्डको हो । १८ सय व्याण्ड सहर र विकासका हिसावले सहज ठाउँका लागि हो भने ८ सय व्याण्ड ग्रामीण क्षेत्र तथा कतिपय सहरका गल्ली र अप्ठेरो भौगोलिक क्षेत्रका लागि हो । कम्पनीले २०७३ पुस १७ गते नेपालमा पहिलो पटक फोरजी सेवा विस्तार गरेको भएपनि हालसम्म काठमाडौं र पोखरामा मात्रै सीमित छ ।
विस्थापित टूजी थ्रीजी ?
टेलिकमले सुरुमा विस्तार गरेको दोस्रो पुस्ताको मोबाइल (टुजी) र तेस्रो पुस्ताको मोवाइल (थ्रिजी) विस्तापित हुन्छ या हुँदैन भन्ने प्रश्न यतिवेला उब्जिएको छ । टूजी खासगरी भ्वाइस सेवाका लागि ल्याएको सेवा हो भने थ्रीजी भ्वाइस र डेटा दुवै प्रयोग गर्न मिल्ने प्रविधि हो । अब फोरजीले बजार लिएपछि हाल भइरहेको टूजी भन्दा थ्रीजीका ग्राहक फोरजीमा सहजै अपग्रेड हुन सक्नेछन् । थ्रीजी र फोरजी डेटामा लक्षित भएकोले ग्राहक सहजै परिवर्तन हुन सक्नेछन् । टूजी भने भ्वाइसका लागि मात्रै भएकोले अहिले पनि त्यस्ता ग्राहक टेलिकममा छन् जुन परिवर्तन हुन समय लाग्छ । कम्पनीका प्रवन्ध निर्देशक अधिकारीले फोरजी सेवा सक्ने मोवाइल कुल ग्राहकमध्ये ५० प्रतिशतमात्रै हो भने भोल्टीई लिई ग्राहक भनेका ३८ प्रतिशत मात्रै छन् । बाँकी भनेको टूजी र थ्रीजी सर्पोट गर्ने मोबाइल नै हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असार मसान्तसम्म टेलिकमका कुल भ्वाइसतर्फका ग्राहक २ करोड २६ लाख ९६ हजार छन् जसमध्ये जीएसएम प्रविधिका २ करोडभन्दा धेरै छन् भने अरु पीएसटीएन र सीडीएमए, भिस्याट लगायतका छन् ।