दैलेखमा छुप्री व्यवसाय फस्टाउँदै
भिम वहादुर सिजापति । ८ असोज दैलेख
दैलेखमा छुर्पी व्यवसाय फस्टाउँदै गएको छ । दैलेख भैरवी गाउँपालिका–७ मान्ममा दुग्ध व्यवसाय गर्दै आएका मोहन पौड्याल छुर्पी व्यवसाय गर्दै आएका छन् । शिक्षित युवाहरुको पहिलो रोजाई जागिर नै भए पनि उनी अहिले दुग्ध व्यवसायतर्फ आकर्षित भएका हुन् ।
ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका ३५ वर्षीय पौड्याल छुर्पी उद्यमबाटै गाउँलाई चिनाउने प्रयासमा लागेको वताउँछन् । २०७४ कात्तिक १८ गतेदेखि पौड्यालले गाउँमै करीब ६ लाख रुपैयाँ खर्चेर छुर्पी उद्योग स्थापना गरेका हुन् ।
उनले भने ‘१० लिटर दूधबाट उद्यम शुरू गरेको हुँ अहिले यो व्यवसाय बढाउँदै लगेको छु ।’ राम्रो मूल्य पाउने भएपछि यहाँका किसानले आफ्नो उद्योगमा दूध ल्याउन थालेको उनी बताउँछन् । आफ्नो उद्योगबाट ५४ घरधुरी लाभान्वित भएको र दैनिक ४ सय लिटर दूध खपत हुने गरेको उनको भनाइ छ ।
पौड्यालको छुर्पी उद्योगमा ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । घुमफिरका लागि केही वर्ष पहिले इलाम पुगेका पौड्यालले त्यहाँ छुर्पीको व्यापार देखेका थिए । त्यसबाट प्रभावित भएका उनले आफ्नै गाउँमा यस्तो उद्योग सञ्चालन गर्ने सोच बनाएका थिए । ‘त्यसैको नतीजा हो यो उद्योग,’ पौड्याल भन्छन् ।
आफ्नो उद्योगमा दूध ल्याउने किसानले अहिले मासिक ३१ हजार रुपैयाँसम्म कमाउने गरेको पौड्याल बताउँछन् । उद्योगबाट सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।
गत वर्ष उद्योगमा २१ लाख रुपैयाँ बराबरको दूध आएकोमा यो वर्ष ३२ लाख रुपैयाँ बराबरको दूध खरीद गर्ने उनको लक्ष्य छ । ‘वर्षेनि उद्योगबाट आर्थिक आम्दानी बढाउँदै लैजाने योजना अनुसार लागिपरेको छु,’ उनी भन्छन् । छुर्पी उद्योगसँगै अहिले गाउँमै दूध संकलन केन्द्र पनि स्थापना भएको छ ।
गतवर्ष कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ‘दुग्ध उत्पादनमा सहयोग’ नामक कार्यक्रम अन्तर्गत पौड्यालले छुर्पी उद्योगमा दूध ल्याउने किसान (मजुवा भैंसीपालन समूह)लाई अनुदानका लागि प्रस्तावना बनाउन सहयोग गरे ।
त्यपछि मन्त्रालयले युवा लक्षित कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ बराबरको २० भैंसी र ३४ गाई अनुदान दिएको छ । जसले दुग्ध उत्पादक कृषक र उनको उद्योगलाई टेवा पुगेको पौड्यालले वताए । दूधबाट छुर्पीका साथै खुवा, कुराउनी समेत बनाउने गरिएको उनी सुनाउँछन् । पौड्यालको उद्योगमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले दूध बोक्न कित्ली, बाल्टी र क्यानहरूका लागि पनि सहयोग गरेको उनले वताए । उद्योगबाट उत्पादित छुर्पी प्रतिकेजी ९५० र घीउ ७५० रुपैयाँमा विक्री हुने गरेको पौड्याल बताउँछन् ।
यसअघि पौड्यालले २०७२ सालमै अलैंची फर्म पनि दर्ता गरी सञ्चालनमा ल्याएका छन् । अलैंचीबाट ४ वर्षमा २० लाख आम्दानी भएको उनको भनाइ छ । अलैंची खेतीमा यहाँका १८ घरधुरी संलग्न छन् ।
आगामी दिनमा असला माछा, सिताके च्याउ, अर्गानिक तरकारी उत्पादन क्षेत्र स्थापना गर्ने, छुर्पी उद्योगमा १ हजार लिटर दूध खपत गर्ने, गाईपालन व्यवसाय तथा बजारीकरण गर्ने र ४ वर्षपछि यी सबैबाट गरी गाउँमा वार्षिक ३ करोड रुपैयाँसम्म भित्र्याउने लक्ष्य रहेको पौड्याल वताउँछन् ।