कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी

२७ असाेज काठमाण्डाै ।

आइतबार बिहान पक्राउ परेका रौतहट-२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमविरूद्ध नेपाल प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा लैजाँदैछ। घटना भएको १२ वर्षपछि प्रहरीले आलमलाई आइतबार रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो। आलमको बयान सुरू भइसकेको प्रहरी श्रोतले जनाएको छ। केही दिनमै उनीविरूद्ध अदालतमा मुद्दा लैजाने तयारी प्रहरीले गरेको छ।

के थियो घटना ?

२०६४ साल चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भयो। विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भयो। एक दर्जनभन्दा बढी घाइते भए। घाइतेमध्ये केही नेपाली र अधिकांश सीमापारि भारतका नागरिक थिए। बम विस्फोट भएको केही दिनपछि सबै घाइते एकाएक हराए। घटनाको केही समयपछि हराएमध्येका दुई नेपाली नागरिकका आफन्तले प्रहरीमा उजुरी गरे। शेख रुक्सना खातुन र श्री नारायण सिंहले संविधान सभाको चुनावमा नेपाली कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलममाथि गम्भीर आरोप लगाए। ११ जना घाइतेलाई आलमले इँटाभट्टाको भुंग्रोमा जलाएर मारेको उनीहरूले जाहेरी दिए।

आलममाथि लागेको आरोपको प्रहरीले त्यो बेला खासै छानबिन गरेन। आलम संविधान सभा निर्वाचनमा विजयी भए। प्रहरीले गोप्य छानबिन गर्‍यो। छानबिनमा आलमले नै संविधानसभा चुनावमा ‘बुथ क्याप्चर’ गर्ने उद्देश्यले सीमापारिबाट मान्छे ल्याएर बम बनाउन लगाएको तथ्य खुल्यो। बम बनाउने क्रममा पड्किएर दुई जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना गम्भीर घाइते भएको प्रहरीले पत्ता लगायो। बमकाण्ड लुकाउन आलमले ती ११ जना घाइतेलाई इँटाभट्टाको भुंग्रोमा हालेर हत्या गरेको आरोप गाउँलेले लगाए।

प्रहरीले आलमलाई कार्यालय उपस्थित हुन ताकेता गर्‍यो। घटना घटेको दुई महिना पछि २०६५ साल असार ९ गते आलम जिल्ला प्रहरी कार्यालयमा हाजिर भए। आलमसहित उनका ५ जना कार्यकर्तालाई समेत विपक्षी बनाएर प्रहरीले मुद्दा तयार गर्‍यो। तर महान्याधिवक्ताको कार्यालयले मुद्दा नै नचल्ने बताएपछि त्यो त्यत्तिकै थन्कियो। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा आलम श्रम तथा यातायात मन्त्री भए।

सरकारी वकिलको कार्यालयको निर्णय र आलमविरूद्ध शेख रुक्सना खातुन र श्री नारायण सिंहले सर्वोच्च अदालतमै रिट हाले। रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दियो। तर अदालतको आदेश कार्यान्वयन भएन।

खातुन र सिंहले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिए। पक्राउ गर्न पुनः आदेश जारी भयो। राजनीतिक रूपमा प्रभावशाली आलमलाई फेरि पनि प्रहरीले पक्राउ गरेन। यसैबीच आलमविरूद्ध उजुरी दिने शेख रुक्सना खातुनको गोली हानी हत्या भयो। खातुनको हत्यापछि त्यस घटनाका पीडितका अन्य आफन्त पनि बोल्न सकेनन्।आलम राजनीतिक रूपले मात्र बलिया थिएनन्, जिल्ला प्रहरी प्रमुखसमेत अक्सर आफू अनुकूलका लैजाने हैसियत राख्थे।

१२ वर्षपछि किन पक्राउ परे आलम ? 

आलमले २०६४ सालमा बम बनाउन प्रयोग गरेका एक जना व्यक्ति अहिले प्रहरीको सम्पर्कमा आएका छन्। उनी सो बमकाण्डका घाइते र आलमले अरू घाइतेलाई इँटाभट्टामा हालेको देख्ने साक्षी समेत भएको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार उनी अहिले प्रहरीको संरक्षणमा छन्। रुक्सना खातुनको हत्यामा पनि आलमको हात रहेको प्रमाण भेटिएको प्रहरीको दावी प्रहरीको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि पर्याप्त प्रमाण संकलन भएपछि उनलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए। ‘त्यति बेला आलमविरूद्ध जाहेरी दिनेलाई नै गोली हानिएको थियो। अनुसन्धान गर्न पनि पीडितका परिवार बोल्ने अवस्थामा थिएनन्। अहिले समय अनुकूल भयो, मिल्यो। अनुसन्धान तीव्र पारेपछि प्रमाण पनि प्राप्त भयो,’ महानिरीक्षक खनालले भने, ‘त्यैसैले उनलाई पक्राउ गरिएको हो।’

१२ वर्षअघि रौतहटमा त्यो बमकाण्ड हुँदा महानिरीक्षक खनाल काठमाडौं प्रहरी परिसरका एसपी थिए। एसएसपीमा बढुवा भएपछि खनाल संयोगवश् अञ्चल कार्यालय नारायणीमा सरुवा भए। त्यतिखेर पनि यो केसको अनुसन्धान गरेका खनाल आलमले त्यो बेला गरेको अपराधसँग परिचित थिए। यसपालि पनि नेपाल प्रहरीको मुख्य कार्यालयबाट उनकै निर्देशनमा टोली रौतहट गएर आलमलाई पक्राउ गरेको हो।

कसको जाहेरीले के भन्छ ?

रुक्सनाको जाहेरीअनुसार ओसी दुबईमा काम गरेर आएका थिए। उनी घर आउँदा गाउँमा चुनावी चटारो थियो। २०६४ चैत २७ गते आलमका मान्छे आएर उनलाई चुनावी प्रचारप्रसार भन्दै आलमकै मोटरसाइकलमा लगे। गाउँगाउँबाट युवा भेला पारेर मतदान बिथोल्दै बुथ कब्जा गर्ने आलमको योजना रहेको जाहेरीमा उल्लेख छ।

‘अफ्ताब आलम र उनका भाइ महताव आलम समेतले भोलिपल्ट हुने चुनावमा मत खसाल्न कोही नआओस् भनेर तर्साउने नियतले मेरो छोरा बसेको गोठघरमा बम पड्काए,’ रुक्सनाले दिएको जाहेरीमा छ, ‘छोरा घाइते भयो। इलाज गराउनुको सट्टा रहस्य खोल्ला भनेर अफ्ताबकै पक्षका व्यक्तिको इँटाभट्टामा लगेर भुंग्रोमा जिउँदै जलाएर मारेको थाहा पाएँ।’

यो थाहा पाएपछि रुक्सना रुँदैकराउँदै आलमको घरमा पुगेको समेत उनले जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँ सोधीखोजी गर्दा ‘तिम्रो छोराको जुत्तासम्म बाँकी होला’ भन्दै जुत्ता लिन मोबिन आलमकहाँ पठाइएको जाहेरीमा उल्लेख छ। आलमकहाँ पुगेकी रुक्सनालाई जुत्ता फिर्ता दिएर पठाइएको थियो। रुक्सनाको जाहेरी चुनावपछि २०६५ वैशाख १८ गते दर्ता भएको देखिन्छ। पछि रुक्सना खातुनको गोली हानी हत्या भयो।

‘घर जान्छु भन्दा इँटाभट्टाको चिम्नीमा छिराएर जलाइयो’

नारायणसिंह राजपुतको जाहेरीअनुसार २४ वर्षीय त्रिलोकलाई चुनाव प्रचार गर्न आलमसहितका मान्छे चैत १९ गते घरमै लिन आएका थिए।  त्यस दिन नारायणसिंहले रोके। ‘यस्तो चुनाव प्रचारप्रसारमा मेरो छोरा जाँदैन, म जान दिन्नँ भनेर रोकेँ,’ नारायणसिंहको जाहेरीमा उल्लेख छ, ‘२० गते म नभएको मौकामा लगेछन्।’

घर फर्किँदा त्रिलोकलाई नदेखेपछि नारायणसिंह खोज्दै आलमको घर पुगे। २१ गते छोरा लिन गएका नारायणसिंहलाई आलमसहितका व्यक्तिले भने, ‘हामीले आफ्नो जिम्मामा काममा लगाएका छौं। तिम्रो छोरालाई केही हुँदैन, पछि घरमै ल्याइदिउँला।’ पाँच दिन बित्यो। त्रिलोक घर आएनन्। छैठौं दिन त्रिलोकको मृत्यु भएको खबर आयो।

‘ज्यानै जाने गरी घरमा जानीजानी बिस्फोट गराउँदा मेरो छोरा घाइते भएको थियो,’ जाहेरीमा भनिएको छ, ‘घाइते अवस्थामै त्रिलोकले ‘म आफ्नो घर जान्छु, उपचार गराउन दिनुस्’ भन्दाभन्दै इँटाभट्टाको दाउरा हाल्ने प्वालमा हालेर जिउँदै जलाएर शव गायब गरियो।’

रुक्सना र श्रीनारायणसिंहका यिनै दुई जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद आलम घटना भएको १२ वर्षपछि आइतबार आफ्नै निवासबाट पक्राउ परे।

प्रहरीका अनुसार यो घटनामा आलम, उनका भाइ महताव आलम, शेख भदई, मोबिन आलम र शेख सराज गरी पाँच प्रतिवादी छन्। आलम पक्राउ परे पनि अन्य प्रतिवादी फरार रहेको रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बताए। उनका अनुसार बिस्फोटपछि इँटाभट्टामा मारिएका अन्य व्यक्ति को थिए भन्ने खुलेको छैन। ‘नेपाली थिए या भारतीय थिए भन्ने संख्यासमेत यकिन नभएको अवस्था छ,’ खत्रीले भने।

यी जाहेरीमा पहिले पनि प्रहरीले छानबिन गरेको थियो। यी सबै प्रतिवादीविरूद्ध २०६५ असार ९ गते जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। असार ३० गते महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयको निर्णयको पक्ष लिँदै मुद्दा नचलाउने भएपछि रौतहट बमकाण्ड ओझेलमा पर्‍यो।

यो निर्णयविरूद्धको रिटका आधारमा सर्वोच्च अदालतले उक्त आदेश २०६९ जेठ १६ गते खारेज गरिदियो। यसले कांग्रेस नेता आलमसहितका व्यक्ति पक्रेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुल्यो। तर, राजनीतिक पहुँच र शक्तिसामु प्रहरीले लामो समय आलमलाई समात्न सकेको थिएन।

यसपल्ट भने रौतहट प्रहरीले फैसला कार्यान्वयन निर्देशनालयको ताकेतापछि आलमलाई दायरामा ल्याएको छ। प्रहरीले त्यही पहिलेको प्रतिवेदनका आधारमा कर्तव्य ज्यान मुद्दामा आलममाथि अनुसन्धान थाल्ने भएको छ।

‘पहिले भएको अनुसन्धान प्रतिवेदनका तथ्य-यथार्थ केलाई पीडित पक्ष तथा साक्षीको बयान संलग्न गराएर मुद्दा अघि बढाउँछौं,’ रौतहट प्रहरी उपरीक्षक खत्रीले भने, ‘यी जाहेरीउपर नै कारबाही थाल्छौं।’

रौतहट प्रहरी प्रवक्ता डिएसपी कार्कीका अनुसार आलमलाई हिरासतमा राख्ने पूर्जी दिइसकिएको छ। उनलाई मंगलबार अदालत खुलेसँगै कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गर्न हिरासतमा राख्ने समय थपका लागि अनुमति मागिने छ।

रुक्सानाको जाहेरी

नारायणसिंह राजपुतको जाहेरी

साभार : सेताेपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *