दैलेखको पेट्रोलियम पदार्थको दोस्रो चरणमा अन्वेषण हुँदै

PHOTO : GOOGLE

मातृभूमी संवादाता । २८ असोज दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत दोस्रो चरणको काम सुरु हुन लागेको छ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार दोस्रो चरणको काम हुन लागेको हो । यसपटक कुन भागमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालिने जनाइएको छ । चिनियाँ प्राविधिक टोली दसैँअघि दैलेख आई पुगेको हो । टोलीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीय बासिन्दासँग छलफल समेत गरेको छ । अब केही दिनमै आवश्यक सामान सहित टोली आउने जनाइएको छ । चिनियाँ टोलीसँग छलफल भएको र अब अन्वेषण थालिने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
केही दिनभित्रै चिनियाँ टोली आवश्यक सामान सहित दैलेख आउने अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले बताए । अब जिओलोजिकल सर्भे, म्याग्नेट सर्भेलगायतका काम हुने उनले बताए । जमिनको पाँच किलोमिटर मुनिसम्म ड्रिलिङ गरिनेछ । जसबाट पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन सकिने उनले बताए ।
गएको असार २६ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गरेका थिए । त्यतिवेला १५ दिन अध्ययन तथा अनुसन्धान गरेर चिनियाँ टोलि फर्किएको थियो । फेरी असोज दोस्रंो साता दैलेख आई पुगेको चिनियाँ टोलीले थप अध्ययन गरेको थियो ।
नेपाल र चीन सरकारबीच सम्झौता भएकाले अन्वेषणको काम परिणाममुखी हुने प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले बताए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि प्राविधिक टोलीलाई सघाउन प्रदेशसभा सदस्य अमरबहादुर थापाले सम्पुर्णमा आग्रह गरे । स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण मिलेर सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्ने प्रदेशसभा सदस्य थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *