दैलेख बजारमा प्लास्टिकका फुलको बिगबिगी

मातृभूमी संवाददाता । ६ कार्तिक दैलेख
नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिदै गएको छ । तिहारमा खासगरी दिदीबहिनीले दाजूभाईलाई सप्तरंगी टिकासँगै सयपत्री र मखमलीको माला लगाइदिने गर्दछन् । तिहारको चहलपहल सुरु भएसँगै दैलेख बजारमा विभिन्न किसिमका प्लास्टिकका फूलमालाहरुको विगविगी वढ्दै गएको छ । सयपत्री र मखमलीको माला भन्दा पनि कृतिम तरिकाबाट बनाइएको प्लास्टिकका मालाको विगविगी वढ्दै गएको छ ।
तिहार अर्थात फुल र बत्तीहरुको पर्व भनेर चिनिने यस पर्वका वेला दैलेखमा प्रत्येक वर्ष लाखौँ रुपयाँको प्लास्टिकका फूलमालाको कारोबार हुने गरेको छ । ‘यस क्षेत्रमा फुलको ब्यवसायीक खेती छैन’ नारायण नगरपालिका २ का स्थानीय टोपेन्द्र थापाले भने, ‘त्यसै कारण भारतबाट आयात गरीने प्लास्टिकका फुलमालाहरुको विगविगी छ ।’ किन्नलाई पनी सस्तो र लामो समयसम्म टिकाउ हुने हुँदा यस्ता फुलहरुमा मानीसको आकर्षण वढेको थापाले बताए । ‘भाईटिकाका लागी हरेकले घरघरमा एक÷दुई बोट लगाएकै हुन्छन्’ थापाले भने, ‘अन्य सजावटका लागी प्लास्टिकका फुलमालाहरु बढी प्रयोग हुने गरेका छन् ।’
हरेक सिजनमा करीब एक लाख रुपयाँको प्लास्टिकका फुलमालाको कारोबार आँफुले गर्ने गरेको विगत लामो समय देखी दैलेख सदरमुकाममा कस्मेटिक पसल गर्दै आएका न्यु वुटवल कस्मेटिक पसलका प्रोप्राईटर इन्साफ अलिले सुनाए । ‘तिहारमा फुलमाला बिक्री हुने भनेको लक्ष्मी पुजापछी तिन दिन हो । यिनै तिन दिनमा करीब एक लाख बराबरको ब्यापार हुने गरेको छ, अहिलेपनी त्यहि अपेक्षा राखेको अलिले वताए ।
यहाँका पसलहरु झिलिमिली देखिन्छन् । तिहार नजिकिएसंगै व्यापार गर्न आउनेहरुको संख्या पनि वढ्दो छ । टाढाबाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसंगै व्यापार गर्न आउनेहरु पनि वढि देखिन्छन् । बजारमा भिडभाड रहेको छ, कतिपय गाडीहरु पनि सजिएर चलेको नारायण नगरपालिका १ का स्थानीय विनोद श्रेष्ठले वताए ।
यस वर्षको तिहारका लागी भनेर १५ हजारको प्लास्टिकका फुलमाला ल्याएको दैलेखका स्थानीय कस्मेटिक व्यापारी जयवहादुर श्रेष्ठले वताए । दैलेखमा विषेश गरेर सयपत्री, मखमलि लगाएतका फुलहरुको व्यवसाय नहुने भएकाले प्लास्टिकका फुलमालाको राम्रो व्यापार हुने गरेको श्रेष्ठको भनाई छ ।
फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव हुने गरेको छ । पछिल्लो समयमा घरगाउँमा समेत फुल देख्न पाईदैन । ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपोन्मुख वन्दै गएको पश्चिम ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय कलम शाहीले वताए । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिए पनि अहिले फुलको विकल्पको रुपमा प्लाष्टिकका फुलमाला वजारमा आएको शाहीको वुझाई छ । सयपत्रीको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ । गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको शाहीले वताए ।
सदरमुकाममा मात्र होइन जिल्लाका स–साना वजारहरूमा पनि भारतबाट आयात गरिएका कृत्रिम र प्लाष्टिकका फुलमालाहरूले झकिझकाउ छन् । आफ्नै घरमा उत्पादन हुने मखमली र सयपत्रीको मालामा भन्दा भारतबाट आयात गरिएका कृत्रिम र बनावटी फुलमालातर्फ मानिसहरू आकर्षित भएको नौमूले गाउँपालिका ३ का वडा अध्यक्ष गगन रोकामगरले वताए । पछिल्लो समयमा प्राकृतिक फूलको महत्वलाई बिर्सदै गएकाले पनि भारतबाट भित्रिएको बनावटी प्लाष्टिकको फुलमालाले स्थान जमाउन थालेको अध्यक्ष रोकामगरको भनाई छ । गाउँघरमा ढकमक्क फूल फुलेपनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार हावी भएको अध्यक्ष रोकामगरको वुझाई छ ।
नक्कली मालाप्रति मानिसहरूको आकर्षण बढेकै कारण जिल्लामा यो वर्षको तिहारका लागि लाखौ मूल्य बराबरको प्लाष्टिकको फुलमाला भारतबाट भित्रिएको छ । वर्षेनी लाखौ रकम मालामै खर्च भएको छ भने अर्कोतर्फ जिल्लाको रकम भारत निर्यात भएको नारायण नगरपालिका ७ का स्थानीय नमराज थापाले वताए । देखावटी र महत्व नबुझेकै कारण तिहारमा सयपत्री, मखमली फूललाई मानिसहरूले भुल्दै गएको थापाले वताए । विशेषगरी भाइटिकाको दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको अलगै महत्व भए पनि यो परम्परा हराउन थालेकोमा थापाले चिन्ता व्यक्त गरे ।
मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन रहेको नारायण नगरपालिका १ की ७६ वर्षिया इन्द्रा थापाले वताए । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै रहेको थापाले वताए । सप्तरंगी टिकामा भावना मिसिँदा शान्ति वर्षिन्छ, दाजुभाइप्रतिको प्रेम रंग जस्तै गाढा तथा निरोगी भइरहने विश्वास भएपनि बनावटी प्लाष्टिकको मालाले भाइटिका मनाउने सँस्कार र्बिसर्दै गएको ७६ वर्षिया थापाको वुझाई छ । विगतको भन्दा यसवर्ष मालाको कारोवार राम्रो हुने आशामा रहेको व्यापारी इन्साफ अली वताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *