कास्कीको चुनावी माहोल

मातृभूमी संवाददाता । १ मंसिद कास्की
कास्की–२ मा चुनावी माहोल तात्दै गएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति दुई साता बाँकी रहँदा सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । मतदान मंसिर १४ गते हुँदै छ । चुनावी प्रतिस्पर्धामा नेकपा, कांग्रेसलगायत २१ उम्मेदवार छन् ।
तीमध्ये १० स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवार मतदाताका घरदैलोमा पुगेर र चोकचोकमा कोणसभा गरेर मत मागिरहेका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
भोट माग्ने क्रममा विपक्षी उम्मेदवारले दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार बढेको, सुशासन नभएको लगायतका आरोप लगाएका छन् । सत्तारूढ पार्टीका उम्मेदवार र नेताहरूले भने संघीयताको पहिलोपटक अभ्यास गरिरहेकाले सरकारले कानुन निर्माण, विकास र समृद्धिका लागि दीर्घकालीन महत्वका काम अघि बढाइरहेको बताउँदै आएका छन् ।

मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनतामाझ आफ्नो प्रतिवद्धता व्यक्त गदै सत्तारुढ नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी ।

कांग्रेस उम्मेदवार खेमराज पौडेल सरकार जनताको मर्म र भावनाअनुसार अघि बढ्न नसकेकाले सरकारलाई सही बाटोमा हिँडाउन पनि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त छन् । पौडेलले सरकारले जनताको दैनिकीसँग सम्बन्धित ससाना समस्या पनि समाधान गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको, सुशासन दिन नसकेको, पानीजहाज, रेलजस्ता हावादारी सपना जनतालाई बाँडेर निराश बनाएको बताउँदै आएका छन् ।

मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भोट माग्न घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल ।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको यात्रा अघि बढाउन आफू प्रतिस्पर्धामा उत्रिएको बताउँदै आएकी छन् । भट्टराईले नागरिकको जीवनस्तर उकास्ने गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने, महिला सशक्तीकरणमा जोड दिँदै स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने गरी काम गर्ने बताएकी छन् । भट्टराईले रवीन्द्र अधिकारीले छाडेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भोट माग्न घरदैलो कार्यक्रममा साझा पार्टी उम्मेदवार रजनी केसी ।

समाजवादी पार्टीका धर्मराज गुरुङले भ्रष्टाचार निर्मूल पार्ने दाबी गरेका छन्। भ्रष्टाचार भएको रकम राज्यले लिएर विकास निर्माणमा लगाउनुपर्ने उनको भनाइ छ । साझा पार्टीका उम्मेदवार रजनी केसीले पर्यटन विकासबाटै पोखरामा रोजगारीका अवसर सिर्जना हुने भएकाले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएकी छन् ।
उपनिर्वाचनका साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि विकास निर्माणका योजना र नीति लिएर जनताको घरदैलो, चोक र गाउँबस्तीमा पुगेका छन्। कास्की क्षेत्र नम्बर–२ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *