अटोरिक्सा चालकको मनोमानी, नागरिकलाई सास्ति

मातृभूमी संवाददाता । ५ मंसिर दैलेख
दैलेखमा विगत दुई/तिन वर्ष यता अटोरिक्सा निकै प्रयोगमा आएको छ । अहिले दैलेख सदरमुकाम हुँदै लोहोरे, चुप्रा, भैसेखोर, विजौरा, नयाँगाउँ, किमुगाउँ, ठालुडाँडा लगाएतका छोटो दुरीमा पैदल यात्रा गर्नेहरुको पहिलो रोजाई नै अटोरिक्सा हुने गरेको छ ।
तर दैलेखमा सञ्चालित ५५ प्रतिशत अटोरिक्साका चालकसँग चालक अनुमतिपत्र (लाइसेन्स) नै नभएको पाइएको छ । जिल्लामा करीब १ सय भन्दा वढि अटोरिक्सा सञ्चालनमा छन् । यि मध्ये ४५ जना चालकसँग मात्र लाइसेन्स भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
लाइसेन्सविना अटोरिक्सा चलाउनेलाई नियन्त्रणमा लिने र जरीवाना गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि चन्द्रबहादुर कार्कीले बताए । जिल्लाका नारायण नगरपालिका, दुल्लु नगरपालिका सहित तल्लो डुंगेश्वर, चुप्रा, भैसेखोर र माथिल्लो डुंगेश्वर क्षेत्रमा अटोरिक्सा संचालनमा छन् ।
अटोरिक्सा चलाउन सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने भनिएकोमा यसको समेत कार्यान्वयन नभएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए । ‘नगरपालिकाबाट अनुमतिपत्र नलिएका चालकलाई अटोरिक्सा चलाउन नदिन ट्राफिक प्रहरीलाई भनेका छौं,’ उनले भने, ‘करको दायरामा नआउने जुनसुकै सवारीसाधनलाई कारबाही गर्छौं,’ उनले भने ।
यातायात व्यवस्था कार्यालयले पहाडी भेगमा तीनपांग्रे सवारीसाधन सञ्चालनको अनुमति दिएको छैन । तर दैलेखमा अहिले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा चलाउने वातावरण सृजना गरिएको छ । जिल्लामा सञ्चालन हुने अटोरिक्साहरू यातायात व्यवस्था कार्यालयमा दर्ता पनि नभएको ट्राफिक कार्यालयले बताएको छ ।
दुल्लु नगरपालिकामा पनि चालकहरूले अटोरिक्सा सञ्चालनको अनुमति नलिएको नि. प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले बताए । अटोरिक्सा सञ्चालन सम्बन्धमा नगरपालिकाले नीति नियम बनाउन बाँकी रहेको उनको भनाइ छ ।
मनोमानी भाडा असुल
अटोरिक्सा संचालनका लागी स्थानीय तहले अनुमति दिए पनि भाडा दर कायम नगर्दा अटो चालकहरुले मनोमानी भाडा लिने गरेका छन् । दैलेखको देवकोटा चोकदेखी उत्तर, दक्षिण, पुर्व, पश्चिम अटोरिक्सा संचालन भएपनि सम्वन्धित निकायले भाडादर कायम नगर्दा मनोमानी भाडा असुल्ने गरेको पाईएको छ ।
फरक–फरक अटो चालकले एउटै गन्तव्यमा पु¥याएको भाडा फरक–फरक लिने गरेको स्थानीयको गुनासो छ । चालक पिच्छे नै भाडा दर पनि फरक–फरक भएको स्थानीय वताउँछन् ।
जथाभावी पार्किङ्ले सास्ति
सम्वन्धीत निकायले सवारी सधान पार्किङ्गको निश्चित एरिया नतोक्दा पैदल यात्रीलाई सास्ति हुने गरेको छ । मोटरसाईकल, जिपकार तथा अटोरिक्साको सम्वन्धित निकायले निश्चित पार्किङ्ग एरिया नतोक्दा पैदल यात्रीले सास्ति खेप्नु परेको उनीहरुको गुनासो छ ।
विषेशगरी विद्यालय संचालन भएको दिन विहान ९ देखी १० वजे सम्म र साँझ ३ देखी ४ वजे सम्म विद्यार्थी तथा पैदल यात्रीले निकै सास्ति खेप्नु परेको छ । सडक छेउछाउमा जथाभावी सवारी साधन पार्किङ्ग गरि राख्ने हुनाले र ठुला यातायातका साधन वजार क्षेत्रमा प्रवेश गराउनु मालवाहक यातायातका साधन जहाँपायो त्यहिँ रोकी सामान लोड अनलोड गर्नुले विहान र वेलुका देवकोटा चोक देखी नयाँ वजार हाईस्कुल सम्म जाम पर्ने गरेको छ ।
यि र यस्ता विषयमा सम्वन्धित निकाय मौन रहनुले पनि आम नागरिकले निकै सास्ति खेप्नु परेको स्थानीयहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *