सार्वजनिक सेवाबारे नागरिक समाजको निगरानी
मातृभूमी संवाददाता । ९ मंसिर दैलेख
स्थानीय सरकारले नागरिकलाई प्रवाह गर्ने सेवावारे नागरिक समाजले नागरिक समाजले निगरानी गरेको छ । स्थानिय नागरिकप्रति उत्तरदायी, जवाफदेही, जिम्मेवार बनाउन नागरिक समाज संस्थाका प्रतिनिधी र पत्रकार सम्मिलित निगरानी समुहले सोमवार नारायण नगरपालिकाको कृषि र विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणका साथै सेवा प्रवाहको निगरानी गरेको हो ।
नागरिकको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहको सेवा प्रवाहलाई छिटो छरितो, गुणस्तरिय र पारदर्शी बनाउन नागरिक समाजले निगरानी गरेको हो ।
नारायण नगरपालिकामा नागरिक समाजको टोलीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण र कृषि सेवाबारे जनप्रतिनिधी र विषयगत शाखाका कर्मचारीसँग छलफल गरी जानकारी लिएको छ । नागरिक समाजको छुट्टाछुट्टै निगरानी समुहले विभिन्न प्रश्नावली सहित छलफल गरेको थियो ।
नागरिक समाज दैलेखका संयोजक खड्गबहादुर सिजापतीको नेतृत्वमा इन्सेक प्रतिनीधि अमर सुनार, स्याक नेपालका सचिव भरतराज अधिकारी, नेपाल शिक्षक संघका सभापति कृष्णबहादुर थापा, पत्रकार हिक्मतबहादुर नेपाली, महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना विक, सोसेकका रमा श्रेष्ठ सम्मिलित टोलीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणबारे निगरानी गरेको थियो ।
सो समुहले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणका लागि नीति निर्माणको अवस्था, विपद् व्यवस्थापन पूर्व तयारीबारे अध्ययन गरेको नागरिक समाजका संयोजक सिजापतीले जानकारी दिए ।
यस्तै कृषक समुह महासंघ कर्णाली प्रदेशका तेजबहादुर थापाको नेतृत्वमा सामुदायिक वन उपभोक्ता महासँघका अध्यक्ष मणिराम शर्मा, महिला अधिकारकर्मी डिलकुमारी चन्द, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव शक्तिराम बुढा, पत्रकारहरु विशाल सुनार, उदयराज अधिकारी सहितको समुहले नागरिकको कृषि सेवामा पहुँच, नीति निर्माणको अवस्था, लक्षित वर्गका कार्यक्रम, बजेट बिनियोजन, कृषि समितिको प्रभावकारीताबारे अध्ययन गरेको थियो ।
सुन्दर नेपाल संस्थाद्धारा संचालित ‘नागरिक समाज ः पारस्परिक जवाफदेहिता परियोजना’ अन्तरगत नागरिक समाजको समुहले नगरपालिकाको सो विषयगत क्षेत्रको निगरानी गरेको हो ।