लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मातृभूमी संवाददाता । ९ मंसिर दैलेख
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमवार देखी सुरु भएको छ । नाभेम्वर २५ तारिख देखी विश्वभर नै सुरु हुने यो अभियान दैलेखमा पनि सुरु भएको छ । यस वर्ष ‘समानताको पुस्ता ः बलात्कार विरुद्ध ऐक्यबद्वता’ भन्ने मुख्य नारा सहित दैलेखमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो ।
समाजमा जागरण ल्याउने उद्धेश्यले सोमवारदेखि १६ दिनसम्म जिल्लाभरी विशेष अभियान सञ्चालन गरिने बताइएको छ । नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा आज (सोमवार) विहान प्रभातफेरी समेत गरिएको छ ।
अभियानमा सामाजिक सेवा केन्द्र (सोसेक), समुदायमा आधारित संस्था महासंघ, एभरेष्ट क्लब, सुन्दर नेपाल संस्था र महिला सशक्तिकरण मञ्च दैलेख लगाएत संघ संस्थाहरुले समन्वय गरेका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सरकारी तथा गैसरसरकारी संस्थाहरु समेतको सहभागितामा दैलेख सदरमुकाममा प्रभातपेरी गरिएको हो । गणेशचोकबाट सुरु भएको प्रभातफेरी डेकेन्द्रचोक, लोकतान्त्रीक चोक हुँदै पुन देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो ।
देवकोटा चोकमा भएको छोटो सभालाई सम्बोधन गर्दै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अभियान शुभारम्भ भएको घोषणा गरे । अभियानका क्रममा १६ दिनसम्म विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख खड्काले बताए ।
अभियानको पहिलो दिन यहाँका सरोकारवालाहरुले महिला हिंसा विरुद्ध हस्ताक्षर गरि प्रतिबद्धता समेत जनाएका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, स्थानीय तह वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियान मार्फत आह्वान गरिएको छ ।
सन १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको जनाएको छ ।
यस्तै विश्वमा भने ‘अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप’ भन्ने नाराका साथ अन्र्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईंदै छ ।
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अन्र्तराष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ ।
प्रत्येक वर्ष यो अभियान विविध कार्यक्रम सहित मनाएपनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *