सुकुम्वासीलाई लालपुर्जा दिलाउन पहल भइरहेको छ : उपप्रमुख मल्ल

मातृभूमी संवाददाता । १५ मंसिर दैलेख
नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले घर नभएकालाई घर र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरुलाई जग्गाधनी प्रमाणपत्र दिलाउन पहल भइरहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा आइतवार दैलेखमा आयोजना गरेको ‘शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
जग्गा विहीन दलितहरुलाई एक पटकलाई जग्गा दिने केन्द्र सरकारको योजना रहेको र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरुलाई जग्गाधनी प्रमाणपत्र दिलाउन प्राविधिक र कानूनी सरसल्लाह भइरहेको उपमेयर मल्लले प्रष्ट पारिन् ।
त्यसबखत नारायण नगरपालिका ७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले भनिन्, ‘आफूहरुले चुनावको बेला धेरै चिज दिन्छौं भनेका थियौं, गर्न सकेका छैनौं । तर केही नभएको पनि होइन । बजेट अनुसार विकास कार्यक्रम भएकै पनि छन् ।’ उनले बाँकी कार्यकाल अवधिमा जनतालाई सन्तुष्ट गराउने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा नारायण नगरपालिका १ का कार्यवाहक वडाध्यक्ष रमेश केसीले रातामाटेको खानेपानी समस्या समाधानको लागि खानेपानी उपभोक्ता समितिसंग भनेर निःशुल्क सार्वजनिक धारा जडान गर्ने तयारी भएको बताए ।
मानवअधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीताकुमारी बुढाले इएलपी परियोजनाले गर्ने आवास अधिकार सरोकारका काम र स्थानीय सरकारको दायित्व विषयमा प्रकाश पारे ।
छलफल कार्यक्रममा उठेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सवालहरुको समाधानको लागि नारायण नगरपालिकाले पूरा गर्ने दायित्व, समुदायको अग्रसरता र इन्सेकले गर्ने नागरिक अगुवाइको कार्य विषय समेटेर सरोकारवालाहरुले ३ बुदे प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *