पूर्वाधारको सबै रकम महाबु सडकमा

मातृभूमी संवाददाता । १८ मंसिर दैलेख
दैलेख क्षेत्र नं. १ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रकम सबै दैलेख महाबु सडकमा खर्च गरिने भएको छ । प्रतिनिधिसभा सदस्य रबिन्द्रराज शर्माको अध्यक्षतामा केहि दिन अघि जिल्ला समन्वय समितिमा बसेको परामर्श समितिको बैठकले उक्त ६ करोड रकम सबै दैलेख महाबु सडकमा खर्च गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाका सदस्यद्वय रबिन्द्रराज शर्मा, पार्वती बिशुन्के, जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाह र दैलेख क्षेत्र नं. १ को नारायण नगरपालिका तथा महाबु, नौमूले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिकाका प्रमुखहरुको उपस्थितिमा उक्त निर्णय भएको सदस्य सचिव जिल्ला समन्वय समिति दैलेखका समन्वय अधिकारी पदम सापकोटाले जानकारी दिए ।
‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ निर्देशिका अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुको परामर्श लिन बनेको परामर्श समितिको सिफारिस पछि प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य संयोजक, समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य भए सदस्य हुने र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको निर्देशक समितिको बैठकले अन्तिम निर्णय लिने प्रावधान छ ।
रुपैडियाबाट नाक्चेनाङ्ला हुँदै तिब्बतसंग जोड्ने जाने त्रिदेशीय मार्ग दैलेख सदरमुकाम हुँदै जानु जिल्लाको गौरवको योजना भएकोले सबै रकम एकै ठाउँमा लगाउन यस्तो गरिएको दैलेख क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रबिन्द्रराज शर्माले परामर्श समितिको बैठकमै बताए ।
सबै रकम एउटै सडकमा हाल्न नहुने भन्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बिरोध जनाएका थिए । प्रदेशको गौरव आयोजनामा निर्वाचन क्षेत्र कार्यक्रमको सबै रकम खन्याउनु असान्दर्भिक भएको आफूले फरक मत जनाएको उनले बताए ।
नाक्चेनाङ्ला हुँदै तिब्बतसँग जोड्ने त्रिदेशीय मार्गकै लागि यस वर्ष परेको ५२ करोड दैलेख हुँदै अघि बढ्नुपर्नेमा मुगुबाट यता तर्फ उल्टो तर्फी सडक खन्न लागिएको घटनाले केन्द्रमा दैलेखका साँसदहरुको पहुँच नभएको देखाएको भन्दै जनस्तरसम्म पनि यसको आलोचना भइरहेको छ । अघिल्लो वर्ष १० करोड पनि मुगुमै खर्च भएको थियो ।
सुर्खेत दैलेख सदरमुकाम हुँदै महावु कालिकोट र जुम्ला सडक सञ्चालन भए अहिले सञ्चालन भएको कर्णाली राजमार्ग भन्दा ७९ किलोमिटर छोटो र सुरक्षित यात्राको कुरालाई मध्यनजर गर्दै ६ करोड रकम खर्च गर्ने निर्णय गरिएको प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले वताए ।
दैलेख सदरमुकामका बासिन्दाहरुको भाग्य र भविष्यसँग जोडिएको सडक भएकोले यो सडकलाई दुई लेनको निर्माण गर्न यसपालिको ६ करोड रकम बिनियोजन गरिएको र अन्य रकमका लागि केन्द्र र प्रदेश सरकारसँग कुराकानी भएकोले थप रकम पनि तत्कालै आउने शर्माको भनाई छ ।
प्रतिनिधिसभा सदस्य पार्वती बिसुन्केले क्षेत्र नं. १ का आम व्यापारी र सिङ्गो दैलेख सदरमुकामका वासिन्दाका लागी महत्वपूर्ण उक्त सडक बिस्तार गर्न आफूहरूले समेत केन्द्र सरकारलाई
निरन्तर ताकेता गरेको र केही समयभित्र थप अरू रकम पनि विनियोजन हुने बताएकी छन् । निकै महत्वपूर्ण महावु खण्ड बिस्तारका लागि अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रकमले काम सञ्चालन गर्दै जाने प्रतिनिधीसभा सदस्य विसुन्केले वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *