वेथिति श्रृंखला-१४ : वर्षेनी सडकमा करोडौँ लगानी, वालुवामा पानी

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख
दैलेख जिल्लाका स्थानीय तहमा वर्षेनी सडकमा करोडौं रकम लगानी हुँदै आएको छ । तर सडकमा गरिएको करोडौं लगानी वालुवामा पानी भएको स्थानीय वुद्धिजीवको भनाई छ । असार सकिनै लाग्दा ग्राभेलका नाममा खोलावाट ल्याएको ढुङ्गा, गिट्टि, वालुवा पुनःअसारको भेलसँगै खोलामै पुग्ने गरेको वुद्धिजीवीहरु वताउँछन् ।
२०६५ सालमा टर्याक खोलिएको लोहोरे–लामतडा हुँदै टाटामाखु–विन्दावासिनी सडकमा सडक डिभिजन कार्यालयले यस वर्ष २ करोड रकम छुट्याएको छ । सोही सडकमै नारायण नगरपालिकाले बर्षेनी मर्मतका नाममा रकम खर्चिदै आइरहेको थियो । टर्याक खुलेयता करिब ५ करोड रुपैयाँ सकिए पनि सडकको अवस्था भने उस्तै छ ।
जिल्लाका स्थानीय तहमा सडकमा जथाभावी रकम छुट्याउने क्रम जारी छ । अधिकांश स्थानीय तहले नयाँ सडक निर्माण र मर्मतलाई प्राथमिकता दिँदै आएका छन् । गत वर्ष जिल्लाका ९० वडामा ९८ वटा डोजर मार्फत सडक निर्माण र मर्मतको काम गरिएको थियो । सडक निर्माणको काम डोजर मार्फत हुन्छ । अधिकांश डोजर जनप्रतिनिधि र उनीहरूका आफन्तका नाममा छन् । जिल्ला समन्वय समितिका अनुसार यस वर्ष जिल्लामा तीनै तहका सरकार मार्फत सडक स्तरोन्नतिका नाममा करिब ६० करोड रकम विनियोजन गरिएको छ । नारायण नगरपालिकामा यस वर्ष सडक मर्मतका लागि नगरले २ करोड, प्रदेश सरकारले २ करोड र स्थानीय पूर्वाधार विकास कार्यक्रमले ६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
नगरपालिकाले मर्मतको नाममा बर्षेनी असार मसान्तको बेला १ करोड बजेट एकै दिनमा सकिने गरेको वडा १० का स्थानीय वीरबहादुर चन्दले आरोप लगाए । ‘डोजर आतंकले जग्गा–जमिन र वनजंगल सखाप बनाइसक्यो,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि स्थानीय बासिन्दा बेरोजगार बन्यौं, डोजरले १ महिनामा लगानी उठाउन थाल्यो ।’ उनले एक सिजनमा मात्र चल्ने सडकमा मर्मतका नाममा सधैं लाखौं रकम दुरुपयोग भइरहेको गुनासो गरे ।
केही सडकमा प्रदेशका मन्त्रालय, सडक डिभिजन र स्थानीय सरकारले मर्मतकै नाममा बजेट विनियोजन गर्दा डुब्लिकेसन बढिरहेको उनी बताउँछन् । चालु आवमा नारायण नगरपालिकामा सडकमा मात्र १० करोड रकम छ । नगरपालिकाले चालु आवमा ५५ सडकका योजना छनोट गरेको इन्जिनियर हिक्मत रोकाय बताउँछन् । उनका अनुसार गत वर्ष साढे ३ करोड रुपैयाँ खर्चिएर सडक मर्मत गरिएको थियो । अधिकांश बजेट सडक स्तरोन्नतिका नाममा खर्च हुने उनले जानकारी दिए ।
मर्मतमै करोडौं रकम खर्च भए पनि सदरमुकामकै अधिकांश सडकमा मुस्किलले ९ महिना गाडी सञ्चालन हुने स्थानीयको गुनासो छ । भगवतीमाई गाउँपालिकाले चालु आवमा सडकमै ४ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाका अनुसार २३ योजनामा नयाँ टर्याक र मर्मत तथा स्तरोन्नतिका काम हुनेछन् । नौमुले गाउँपालिकाले पनि एउटै सडकमा वर्षेनी करिव दुई करोड रुपैयाँ मर्मत र स्तरोन्नतिका नाममा खर्चिरहेको छ ।
स्थानीय तहले गुरुयोजनाबिनै सडक निर्माण र मर्मतका काम गरिरहेका हुन् । ११ स्थानीय तहका ९० वडामा करिव ५ सय सडक निर्माण भइसकेका छन् । अझै पनि जनप्रतिनिधिमा सडकमोह नहराएको स्थानीयको भनाइ छ । ‘अल्पमत र बहुमतको रडाकोले सडकमै धेरै बजेट छुट्याउने प्रतिस्पर्धा जनप्रतिनिधिमा हावी छ,’ स्थानीय कमल केसीले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, लक्षित वर्गको उत्थान लगायत काममा जनप्रतिनिधिको ध्यानै छैन ।’ उनले कुल पूजाका मन्दिर र डकुमेन्ट्री निर्माण लगायतमा पनि रकम दुरुपयोग बढ्दै गएको वताए ।
२ वर्षयता सडकमा फजुल लगानी बढिरहेको गुराँस गाउँपालिकाका मायाप्रसाद ओलीको भनाई छ । ‘मुख्य सडकै दुरावस्थाका कारण बर्षेनी दजनौं स्थानीयले ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘स्तरोन्नति र कालोपत्रेमा ध्यान दिइँदैन्, मर्मतका नाममा करोडौं रकम सक्ने मात्र काम भइरहेको छ ।’ ३ वर्षयता तीनै तहका सरकारले पर्याप्त अनुगमन र योजना नबनाइ सडकमा रकम खर्चिरहेको उनले आरोप लगाए । सडककै कारण वन विनाश बढिरहेको उनको भनाइ छ । स्थानीय सरकारले फराकिलो सडक र नाली नबनाई एउटै सडकमा सधैं रकम खर्चिरहेको उनले सुनाए । जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले स्थानीय सरकारले स्थानीयको रोजगारी खोसेर डोजर मालिकलाई धनी बनाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *