न्यायधीस गाउँमा पुग्दा…

मदन विक । ५ पौष चामुण्डा (दैलेख)
चामुण्डाविन्द्रासैनी–६ की खजुरा विष्टलाई न्यायाधीश र अदालतका कर्मचारीसँग बोलचाल गर्नै हुँदैन भन्ने लागेको थियो । बोल्दा पनि कानुन लाग्ला भन्ने भ्रम थियो । अहिले भने त्यो भ्रम हटेको छ । न्याय सम्पादनका लागि सर्वसाधारणभन्दा न्यायाधीशहरूले समुदायसँग सम्बन्ध बढाउन चाहेको कुरा उनले बुझेकी छन् ।
जिल्ला अदालतका न्यायाधीशको टोली पहिलो पटक गाउँमा पुगेपछि अदालत तथा मुद्दामामिलाबारे धेरै कुरा जान्ने अवसर समुदायले पाएको खजुराले बताईन् । पछि खजुराले गाउँमा आइपुगेका न्यायधीशहरूसँग निर्धक्क कानुन र अदालती काम र प्रक्रियाका बारेमा सोधिन् । अदालतबाट आएको टोलीले समुदायसंग सम्बन्ध बढाउन थालेपछि चाममुण्डाविन्द्रासैनी–५ का पुर्णप्रसाद जैसी पनि अदालतप्रति आफ्नो सुझाव प्रत्यक्ष दिन पाएकामा खुसी ब्यक्त गरे ।
न्यायाधीश र कर्मचारीसहितको टोली गाउँमा पुग्दा स्थानीय छक्क परे । अदातलका काम कर्तव्य र गतिविधिबारे सर्वसाधारणलाई बुझाउन तथा अदालतमा भइरहेका कमीकमजोरी औंल्याउन सर्वसाधारणसँग न्यायिक बाह्यपहँुच सम्बन्धी कार्यक्रम गर्न गाउँ पसेको जिल्ला अदालत दैलेखका जिल्ला न्यायधीस माननीय दण्डपाणि लामिछानेले बताए । न्यायाधीशसँग बोल्नै नहुने, सम्बन्ध राख्नै नहुने भन्ने सोच पुरातन भएकाले त्यसमा सुधार ल्यायन गाउँ आइपुगेको बताए । ‘जो कसैले पनि अदालतमा न्यायका लागि सहज पहुँच बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रा कमीकमजोरी के छन् त्यसमा सुधार गर्नका लागि सुझाव माग्न पनि आएका हौं ।’ उनले ढिलोचाँडो भए पनि न्याय र सत्य कहिल्यै नमर्ने भन्दै अदालतप्रति विश्वास राख्न आग्रह गरे । पछिल्लो समय म्याद तामेलीका कारणले गर्दा न्याय सम्पादनमा ढिला सुस्ती हुने गरेको उनले बताए ।
साथै अदालतलाई चाहिने प्रमाणहरु जुटाउनका लागि स्थानिय नागरिकहरुको भुमिका आवश्यक रहने बताउदै जिल्ला न्यायाधीस लामिछानेले अदालतलाई सधैभरी आबश्यक सहयोग गर्न स्थानिय नागरिकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले नागरिकहरु कानूनी सम्बन्धी अज्ञविज्ञ भएकाले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिने बताए । यसैगरी उप–प्रमुख ताराकुमारी शाही खत्रीले न्यायिक समिति सम्बन्धी जानकारी दिईन् ।
जिल्ला अदालत दैलेखका न्यायधीस माननीय दण्डपाणि लामिछानेको अध्यक्षतामा शनिबार जम्बुकाँधमा न्यायिक बाह्य पँहुच सम्बन्धी कार्यक्रममा अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले कार्यक्रमको उद्देश्य बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *