गाउँपालिका अध्यक्षको अपहरण, खोजीकार्य तिव्र
मातृभूमी संवाददाता । ६ पौष दैलेख
ठाटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष धिरवहादुर शाहीलाई विप्लव समुहका कार्यकर्ताले अपहरण गरेको वुझिएको छ । ठाटिकाँध गाउँपालिका वडा नं. २ शेरीपाटामा रहेको आफ्नै घरमा वसिरहेको अवस्थामा शनिवार राती करीव १२ वजे १५÷१६ जनाको समुहमा रहेका अज्ञात टोलीले अध्यक्ष र उनको श्रीमती ईला मल्ल शाहीलाई अपहरण गरिएको आफन्तले जानकारी दिएका छन् । अध्यक्षसंगै भाई हस्त वहादुर शाहीलाई राती नै र श्रीमती ईला मल्ल शाहीलाई आज विहान छोडेको वुझिएको छ । भाई हस्तका अनुसार सो गाउँपालिकाको गुईच्याखर्क जंगलमा अध्यक्ष शाहीलाई राखिएको छ ।
दाई भाउजुलाई खोज्न विहानै गुईच्याखर्क जंगल पुगेका हस्तले हतियार सहित रहेको विप्लव समुहले राजनैतिक मुद्धा भएकाले अपहरण गरिएको र २÷३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजु ईलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिए । सो समुहले विप्लव समुहको कार्यकर्ता रहेको भन्दै सोधपुछ गर्नु छ भनेर लिएर गएपछि आफन्त र गाउँलेहरुले रातीदेखि नै खोजी गर्दा सो जंगलमा भेटीएको उनले वताए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिए । हतियार सहित रहेका विप्लव कार्यकर्तावाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सर्तकता अपनाउनु पर्ने देखिएको उनको भनाई छ ।