जुनसुकै हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ मन्त्री भट्टराई

मातृभूमी संवाददाता । ९ पौष काठमाण्डौ

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जुनसुकै हालतमा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई लक्षित गरी काठमाण्डौ उपत्यकाभित्रका पालिकाप्रमुखहरुको छलफलमा मन्त्री भट्टराईले अबको डेढ(दुइ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु धान्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउनुको अर्को विकल्प नभएको बताए ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको र पर्यटनकै माध्यमबाट देशको समृद्धिको कल्पना गरिएको भन्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासको लागि निजगढमा विमानस्थल नभइ नहुने पनि दावी गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु धान्न सक्छ, अहिले नै वार्षिक ७२ लाख यात्रु यही विमानस्थल भएर ओहोरदोहोर गरेका छन्, अबको डेढ–दुई वर्षभित्रै यो विमानस्थले थप यात्रु धान्न सक्दैन’, मन्त्री भट्टराईले भने, ‘हामीले बर्सेनि करोड यात्रु ल्याउने कल्पना गरेका छौँ तर त्यति यात्रु धान्ने विमानस्थल पनि बनाउन थाल्नुपर्छ । त्यसका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ ।’
मन्त्री भट्टराईले विश्वका केहि ठूला विमानस्थल र ठूला सहर २ घन्टाको दूरीमा रहेका र फाष्ट ट्रयाक बनेपछि काठमाण्डौ र निजगढको दूरी पनि १ घन्टामा छोटिने दावी गरे । मन्त्री भट्टराईले निजगढ विमानस्थन नबनेसम्म काठमाण्डौ–तराइ द्रुतमार्ग पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने बताए ।
‘१ खर्ब रुपैयाँभन्दा धेरै लगानी लगाएर हामीले फाष्ट ट्रयाक निर्माण गरिरहेका छौँ, यदि निजगढमा विमानस्थल बनेन भने अहिले जस्तै यात्रु आसोरेर फाष्ट ट्रयाकको सञ्चालन खर्च उठ्दैन, अब विमानस्थल र फाष्ट ट्रयाकलाई एउटै ढंगले सोचेर अघि बढ्नुपर्छ’, मन्त्री भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *