समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मातृभूमी संवाददाता । ९ पौष काठमाण्डौ
समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताए ।
प्रधानमन्त्री आफैँले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नुको औचित्य सकिएको उनले बताए । ‘सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्नेगरी विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएका कमी कमजोरी हटाउने भन्ने स्पष्ट सहमित भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, उनले भने, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन, उल्टो नीति निर्माण, बजेट निर्माण, कानुन बनाउँदा कुनै सहकार्य भएन । सहकार्यको संस्कृति लत्याएर एकलौटी निर्णय गर्दै गर्दै जानुभयो ।’
अध्यक्ष यादवले मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव नभएर आफूले संविधानमा भएको त्रुटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन छलफल गर्ने प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा के गरी बस्ने भन्दै प्रश्न गरे । यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको पनि बताए ।
तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भइरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उहाँले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताए । ‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ सकिएको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उनले भने । राष्ट्रिय जनता पार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उनले बताए । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पूरा भएकोले अब राजपा कसरी अगाडि बढ्छ ? भन्नेमा एकताको खाका कोरिने उनले बताए ।