प्रचण्ड प्रशस्तिका सन्देश

प्रा.डा. ऋषिराम शर्मा

कामरेड प्रचण्डको ६६औं जन्मदिवस (मंसिर २६ गते) मा विशेषगरी सामाजिक सञ्जालका भित्ताहरूमा उहाँमाथि शुभकामनाका भजन निकै गाइए र शुभेच्छा र बधाइका पुष्प बेपत्तासँग बर्सिए प्रचण्ड प्रतापि भू… झैं। नयाँ अवतारमा अवतरित भएजस्तै गरी उहाँको पूर्ण देवत्वकरण गरिएको अनुभूति भयो। यस्तो लाग्थ्यो- मानौं प्रचण्डचालिसा जपिँदै छ वा प्रचण्डदेवको आरती भइरहेछ।

शुभकामनाको स्तुतिगानका शाब्दिक खेती गर्नेहरूको अनुमान होला : कामरेड प्रचण्डले गणितीय ढंगले सिंगो नेकपाको एकछत्र अकण्टक नेतृत्व (!) लिनुहुने छ र मुलुकको प्रधानमन्त्रीसमेत हुनु हुनेछ अनि त अहिले रोपेका यी शब्दहरू आफ्नै बारीमा लाभका बोट भएर हुर्कने छन् र त्यसमा फल्ने छन् : पद, पदाधिकारी, ठेक्कापट्टा, कमिसन, धाक र त्रास आदिका फलहरू।

कामरेड प्रचण्डका अगाडि एकपटक ठूलै अवसर आएको हो। त्यसबेला आमजनताले पहिलो संविधानसभा चुनावमा उक्त अवसरलाई मतपेटिकाभित्र विश्वासका साथ मतका रूपमा खसालेकै हुन्। त्यसबेला तत्कालीन एमाले र नेपाली कांग्रेसभन्दा अग्रपंक्तिमा पुर्‍याइदिएर प्रदान गरेको अवसरको चेक यहाँले साट्न सक्नुभएन। अथवा यसो भनौं- जनयुद्ध नामको सशस्त्र र कहालीलाग्दो विद्रोहको पाठशालामा सैद्धान्तिक रूपमा जे पढाउनु भो प्रायोगिक रूपमा, त्यो पाठ्यक्रम नै त्रुटिपूर्ण थियो। किनकि एकदलीय जनवाद (नौलो जनवाद) को पाठ्यक्रम पढेर बन्दुकको कलमले कक्षाकार्य, गृहकार्य (होमवर्क) र अरण्यकार्य गर्दै आएकाहरूलाई ‘संसदीय व्यवस्था’ को परीक्षा हलभित्र जबर्जस्ती बसालियो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को प्रश्नपत्र सोधियो र जाँचमा कलमले लेख्न लगाइयो। परिणामस्वरूप, वैद्य र विप्लव जस्ता चिन्तनशील, दार्शनिक, होनाहार र पठनशील विद्यार्थी र तिनको ठूलै समूहले धोकाधडीको आरोप लगाई परीक्षा नै बहिष्कार गर्‍यो भने अण्टसण्ट लेखेर वा अवसरवादको चिट चोरेर उत्तीर्ण गर्ने कतिपयहरू तपाईंको आशीर्वादयुक्त सान्निध्य प्राप्त गरी जीवनमा आमूल परिवर्तन ल्याउन सफल पनि भए।

हुन त तपाईंको सिंगो परिवार जनयुद्ध नामको सशस्त्र विद्रोहमा होमिएकै हो। कतिपय कामरेडका सन्तानहरू घाँटीमा चम्किलो टाई लगाएर बोर्डिङमा पढ्दै गर्दा तपाईंका छोरा र छोरी कलकलाउँदो किशोरवयमा कलमका सट्टा एसएलआर समातेर मृत्युको डोरी घाँटीमा बेर्दै युद्धभूमिमा मृत्युलाई हत्केलामा राखेर हिँड्नुभएकै हो। मुलुकको यो परिवर्तनमा उहाँहरूको योगदान स्मरणीय छ। उहाँहरूमा नेतृत्व गर्ने आँट र क्षमता पनि हुँदो हो, तर तपाईंको पितृत्वका विरासतको पहिरो यसरी खस्यो कि उहाँहरूका योगदानको र नेतृत्व गर्ने आँट तथा क्षमताको कुनै नामोनिसानै नरहे झैं भयो। तपाईंको विरासतको आशीर्वादविना उहाँहरू आफैं स्थापित हुनै नसक्ने बाक्लो तुवाँलोले उहाँहरूको त्यागलाई ढप्पकै ढाक्यो र यसो हुनुका पछाडि भरतपुर महानगरपालिकाको चुनाव काण्ड मुख्यरूपमा कारक बनेकै हो।

सीता दाहाल एक यस्ती गृहिणी हुनुहुन्छ, जसलाई सरलता, सादगी, सज्जनताकी प्रतिमूर्ति मान्न सकिन्छ। त्रेतायुग कि सीताले राम वनवास जाँदा साथमा गए झैं उहाँले तपाईंलाई त्यस्तो रणभूमिमा पनि छायासरि पछ्याउनुभयो। पुष्पक विमानमा चढाएर रामले सीतालाई अयोध्या फर्काए झैं पुष्पक (मल) सँगै उहाँ पनि रणभूमिको लंकाबाट शान्ति प्रक्रियाको अयोध्या (कान्ति) पुरीमा फर्कनुभएकै हो। युद्धकालमा ठूला-ठूला कामरेडहरूका दृश्य र अदृश्य कतिपय यौन विचलनका मुद्दाहरू छरपस्ट भए र तिनको धङधङी छिटपुट रूपमा कतिपयमा अझैं देखिँदैछ। यस महामारीले यहाँको परिवारका प्रिय सदस्यसमेत ग्रसित भएको जगजाहेर छ तर तपाईं मात्र एक यस्तो व्यक्ति र नेता हो, जो सधैं नारी सम्मान र इज्जतका लागि निरन्तर लागिरहनुभयो। सीताको सामीप्य नपाएको भए सायद तपाईंको यो छवि कस्तो हुन्थ्यो त्यो अनुत्तरित नै छ।

शान्ति प्रक्रियामा आउँदा र पहिलो संविधानसभाको परीक्षामा उत्तीर्ण भएको तपाईंको ठूलो पार्टीको नदीबाट बाँध फुटेर जब तपाईंका अर्गानिक क्रान्तिकारीहरू वैद्य र विप्लव नामका ठूलो प्रवाहका भँगाला बनेर विपरीत दिशातिर बगे, त्यसले पनि तपाईंलाई विचलित बनाएन। तपाईंकै कथनअनुसार बाबुरामका बबुरा घुर्की र कनकन झेल्दासमेत तपाईं थाक्नुभएन। तपाईं उर्लंदो खहरेले छङछङ हानेको ढुंगो झैं झन्झन् अडिग हुनुभयो र बचेखुचेका पार्टीलाई एक्लो वृहस्पतिले झैं हाँकिरहनुभयो। यद्यपि त्यस खहरेले अर्को पार्टीबाट बगाएर ल्याएका छेस्का र घसेटाहरू बटुलबाटुल पारेरै भए पनि पार्टीलाई बचाएरै राख्नु भो। दुब्लाउँदै गएको पार्टीलाई ठूलो देखाउन विभिन्न झिँजे पार्टी जोडेर मुढो बनाउन खोज्दा तपाईंको पार्टीमा पाँच हजार केन्द्रीय सदस्य बने। दुनियाँले तपाईंको मजाक उडाए पनि निरन्तर जनयुद्धको डिस्कोर्सका विरुद्धै भए पनि तपार्इं चुनावी नदीमा कहिले वारि त कहिले पारि बसेर संसदीय चुनावको रसहीन सिकार गरिरहनुभयो।

सत्य कुरो के हो भने तपाईंले र तत्कालीन एमाले नेतृत्वले मुलुकको मुड बुझेपछि दुई पार्टीबीच एकीकरणको महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएकै हो। पार्टी एकीकरणका सूत्रधार र गणतन्त्रका महानायक कामरेड प्रचण्ड पार्टी एक भइसकेर र आज कार्यकारी अध्यक्ष भइसकेपछि पनि तपाईंमा जबसम्म पुरानो (पूर्वमाओवादी) गुँडभित्रका प्रायः ढाडिएका, अघोरी, अवसरवादी र चाटुकार चल्लाहरूलाई मात्र आफ्नो सहानुभूतिका पखेटाले ढाकिरहनुहुन्छ, तिनीहरूका चींचीं मात्र सुन्नुहुन्छ र तिनीहरूकै आँआँका पछि लागि चारा खोज्नपट्टि मात्र लाग्नुहुन्छ र नेकपाभित्रका पूर्वएमाले सक्षम व्यक्तिहरूका नाम सुन्नै सक्नुहुन्न र देख्नासाथ तर्सनुहुन्छ। अर्थात् तपाईंकै सपनाको नेकपाभित्र तपाईं पुरानै गुटको गुप्तयोजना र कानेखुसीका पछि दगुर्नुहुन्छ। तपाईंलाई विशाल र सतीसाल नेकपाको नेता बन्न वाधा पुर्‍याउने तत्व तिनै हुन् भन्ने तथ्य तपाईंले आत्मसात नगरी धरै छैन।

हुन त युद्धकालमा देश कब्जा गर्न हिँडेको तपाईंको पार्टीभित्रका केही कामरेडहरू जो नेकपा बन्नुपूर्व करिब हतास, निराश र छिन्नभिन्न अवस्थामा थिए, तिनमा अझैं पनि सिंगो नेकपा कब्जा गर्ने धमिलो सपना हुन सक्छ। यहाँको महत्वकांक्षाका बिरुवालाई प्रशंसाको पानी र देवत्वकरणको युरिया हालेर हर्लक्क बढाउने प्रयास हुन सक्छ। त्यसलाई विश्वास गरी हिँड्न खोज्नुभयो भने इतिहासमा तपाईंले प्राप्त गरेको दोस्रो ठूलो अवसर गुम्न सक्ने भय पनि त्यत्तिकै छ।

कामरेड प्रचण्डका अगाडि आएको यो सिंगो नेकपाको नेतृत्व गर्ने जुन अवसर छ, त्यति सहज र सरल छैन। पार्टीभित्रका ससाना गुटउपगुटभित्रका कानेखुसीबाट जोरजाम पारेर मिलाएको गणितले आम जनताको जमिनी भावना वा साहित्यलाई समेट्न सक्दैन। पूर्वएमाले समूहमा रहेका ठूलो संख्याका र पूर्वमाओवादी समूहमा रहेका सीमित संख्याका इमानदार र सक्षमलाई पाखा र उछिट्टिएर काजमा आएका ठेटनाहरूलाई काखा गरिरहनुहुन्छ, तबसम्म तपाईंप्रति सकल नेकपा गणको विश्वास अंकुरित हुन असम्भव छ। यसका लागि अब तपाईंले पार्टीभित्र सक्षम व्यक्तिले अवसर पाउने कुरालाई मानक बनाई यसलाई सिस्टमकै रूपमा स्थापित गर्ने अभियान चाल्नुपर्छ। नेकपाभित्रका सक्षम, लोकप्रिय र प्रतिभाशाली व्यक्तित्वहरूले विभिन्न ठाउँ र भूगोलमा समेत अवसर पाउने वातावरण निर्माण गर्नैपर्छ।

रत्नाकर कालान्तरमा वाल्मीकि बने। कामरेड प्रचण्ड रत्नाकर हुनुहुन्न, गणतन्त्र ल्याउने कम्पनीको आधाआधी हिस्सेदार र लोकतान्त्रिक गणतन्त्रको हीरा (हिरो) पनि हो। तपाईंलाई अवश्य थाहा छ– हीराको त्यति राम्रो रि-सेल भ्यालु (पुनर्बिक्री मूल्य) हुँदैन। अतः जुन कोर्स र न्यारेटिभ साथ जनयुद्ध सुरु गरियो, जुन सपना दिएर तमाम निदाएका जनतालाई जगाई विद्रोहमा सहभागी गराइयो, त्यस तप्काका अधिकांश व्यक्तिका व्यथा, पीडा, वेदना र कष्ट ज्युँका त्युँ छन्। उनीहरू आटो, पिठो, शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुव्यवस्था र छिटोछरितो सेवा चाहन्छन्, उनीहरू अघाएको साँझ र सुन्दर बिहान देख्न र भोग्न चाहन्छन् अर्थात् उनीहरू मीठो वर्तमान चाहन्छन्। तर जबसम्म तपाईंहरू उनीहरूलाई दलाल, पुँजीवाद, क्रान्ति, जनयुद्ध, आन्दोलनका हाडेओखरजस्ता फोर्नै नसक्ने शब्दका इतिहास मात्र पिलाइरहनुहुन्छ, आफैंहरू सुखसयल ऐश्वर्य र भोगविलासको अमरावतीमा झुल्नुहुन्छ अनि उनीहरू दुःख, पीडा र कष्टको कुम्भीपाकमा डुबेको टुलुटुलु हेर्नुहुन्छ र तपाईंहरूको कथनी र करणीको गणित नराम्ररी बिग्रनेछ।

आशा एवं विश्वास गरौं- चितवनको दिव्यनगरबाट उठेको लाल छवियुक्त छविलालको दिव्य छवि पुष्पवत् फक्रँदै जुन प्रचण्ड वेगमा उर्लंदै अन्तर्राष्ट्रिय जगत्सम्म हलचल मच्चायो, त्यो ‘पुनर्मुसिको भवः’ भने झैं साँघुरिँदै पुनः उहिल्यैको लालिमाहीन छविलाल नबनोस्। यसका लागि चुलाचौका, चम्चा, परिवार, सँधियार, (घर)बेटी, बुहारी, चेली र चाटुकारका चपेटाका साथै पुराना गुँडको गन्धबाट माथि उठ्ने चुनौती मोल्न सक्षम हुनुहोस् र फराकिलो सोच लिई धरातलीय यथार्थअनुरूप भावनात्मक नेतृत्व गर्ने बानी, आदत र व्यवहार वृद्धिमा आफैं सक्षम हुनुहोस् !

साभार ः अन्नपुर्णपाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!