सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र र एनआरटीको रोमान्चक जित

मातृभूमी संवाददाता । १० पाैष काठमाण्डाै

मच्छिन्द्र र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोचक जित हात पारेका छन्। दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई ३-० गोलले हरायो। अर्को खेलमा १० खेलाडीमा समेटिएको एनआरटीले च्यासललाई २-१ गोलले स्तब्ध बनायो।

राष्ट्रिय टोलीका चर्चित खेलाडीलाई टोलीमा अनुबन्ध गरेको मच्छिन्द्रले खेलभर फ्रेन्ड्सलाई दबाब दिएको थियो। मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्‍यो। मच्छिन्द्रका लागि अफ्रिकी खेलाडी पिटर सेगुनले २८औं मिनेटमा सुरुआती गोल गरे। डीबक्सभित्र फ्रेन्ड्सका रक्षकको गल्तीमा पिटरले हेड गोल गरेका थिए। मच्छिन्द्रका लागि दोस्रो गोल ५२औं मिनेटमा एडिलाजा सोमिडेले गरे। एडिलाजाले कप्तान विराज महर्जनको पासमा गोल गरेका थिए। रेजिन सुब्बाले ८५औं मिनेटमा तेस्रो गोल गर्दै मच्छिन्द्रको जित सहज बनाए। फ्रेन्ड्सले पहिलो हाफमा एउटा उत्कृष्ट गोलको अवसर गुमाएको थियो। मच्छिन्द्रका विशाल राई म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

जारी लिगमा मच्छिन्द्रको यो दोस्रो जित हो। जितसँगै तीन खेलबाट ६ अंक बनाएको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलबाट ६ नै अंक बनाएको मनाङ गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। अघिल्लो लिगका १३औं स्थानमा रहेका कारण यसपटक मच्छिन्द्रको एक अंक घटाइएको छ। पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई हराएको मच्छिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो। लगातार तेस्रो हार खेपेको फ्रेन्ड्स अंकविहीन छ।

यसैगरी दोस्रो खेलमा १० खेलाडीमा समेटिएको एनआरटीको जितमा विदेशी खेलाडी जुनियर निकेनगुए र दर्शन गुरुङले गोल गरे। च्यासलका अमिर श्रेष्ठले खेलको अन्तिममा सान्त्वना गोल फर्काएका थिए। जुनियरले २४औं मिनेटमा सुरुआती गोल गरेका थिए। दर्शनले ८५औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीको अग्रदा दोब्बर बनाए। यसअघि ७२औं मिनेटमा एनआरटी १० खेलाडीमा समेटिएको थियो। एनआरटीका विदेशी खेलाडी जोर्डन दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। खेलमा लगातार गोलको मौका बनाएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा मात्र सान्त्वना गोल फर्काएको थियो।

च्यासलका सन्तोष साहुखलको लिगको यसै खेलमा एक सय गोल पूरा गर्ने चाहना पनि सफल हुन सकेन। एनआरटीको जितमा निर्णायक गोल गरेका दर्शन म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुस्कार पाए। जितसँगै एनआरटीले तीन खेलबाट चार अंक बनाएको छ। एनआरटी गत वर्षको लिगमा अन्तिममा परेका कारण यसपटक दुई अंक घटाइएको छ। च्यासलको पनि चार अंक छ। एनआरटीले लिगको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४-० गोलले हराएको थियो। एनआरटीले दोस्रो खेलमा संकटासँग १-० गोलले पराजित भएको थियो। पहिलो खेलमा संकटालाई २-० गोलले हराएको च्यासलले दोस्रो खेलमा मच्छिन्द्रसँग १-१ गोलको बराबरी खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *