नाचेर सँगालेको खुसी (अनुभव विनु शाक्य)

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै

सिन्धुपाल्चोक चौतारामा हुर्किएकी हुन् बिनु शाक्य। जो एक दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छन्। दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन्। इजिप्टबाट सुरु भएर विश्वभर मौलाएको बेली डान्समा उनले भविष्य देखेकी छन्। बिनुले नाचेरै अथाह खुसी सँगालेकी छन्।

घरकी कान्छी छोरी हुन् बिनु। उनका दुई दिदीहरू पनि राम्रो नाच्थे। दिदीहरू नाचेको देखेरै उनले कम्मर मर्काउन सिकिन्। दिदीहरूले कार्यक्रममा नाच्न जानुअघि उनलाई पनि चिटिक्क पारिदिन्थे। स्कुलमा पढ्ने बेला उनी त्यहाँ हुने सांस्कृतिक कार्यक्रममा भाग लिँदा पुरस्कार उनकै पोल्टामा पथ्र्यो।

माधुरी दीक्षितका फिल्म, डान्सिङ रियालिटी सोदेखि टेलिभिजनमा म्युजिक भिडियो हेर्ने गरेर रुचिले उनले नृत्य सिकिन्। उनी पढाइमा अब्बल बिद्यार्थी हुन्। चौतारामा स्नातक सकाएपछि काठमाडौं उक्लिएर आमसञ्चार र अंग्रेजीमा गरी डबल डिग्री गरिन्।

युनिसेफको एक कार्यक्रममा जागिरे भए पनि मनभित्र नाच्ने इच्छा बुरुकबुरुक गथ्र्यो। केही म्युजिक भिडियो र स्टेजमा पनि नृत्य पस्किँदै थिइन् तर धीत मरेन। जन्मदिन मनाउने क्रममा एकजना मिल्ने साथीले हलिउड कलाकार साकिराको सिडी उपहार दिएका थिए। उनले घरमा गएर साकिराको नाचले भुतुक्कै बनिन्। भन्छिन्, ‘साकिराको नाचमा उनले गरेको शरीरको मुभमेन्ट अत्यन्तै राम्रो लाग्यो मलाई।’ साकिराको नृत्यलाई बेली डान्सभन्दा रहेछन् भन्ने उनलाई थाहै थिएन। छाती र पेटको मुभमेन्ट बढी हुने, मोडर्न टाइपको ग्ल्यामर डान्स फम नै बेली डान्स हो भन्ने नाच्दै गएपछि बुझिन्।

साकिराको एउटा स्टेप भिडियो हेरेरै सिकिन् उनले। यसरी उनले गर्ने स्टेज पर्फमेन्स होस या म्युजिक भिडियोको नृत्य, साकिराको फमलाई फलो गर्न थालिन्, जुन स्टाइल प्रायः सबैले मन पराए। अग्रज डान्सरबाट पनि सकारात्मक प्रतिक्रिया आयो। यसले उनलाई झन हौसला बढ्यो।

उनी इन्टरनेट र युट्युबमा बेली डान्स सर्च गर्न थालिन्। आफूमा भएको कमजोरी सुधार्दै गइन्। बेली नाच्दा जस्तो खुसी र सन्तुष्टि अन्य नाचमा पाउँदिनन्। आफैं नाचमा पोख्त भए पनि नाचघरमा उनले करिब ६ महिना नृत्य र अभिनयको कोर्स पनि लिइन्।

बिनुलाई नृत्यले यसरी तान्यो कि उनी जागिर छाडेर पूर्णतया नृत्य र अभिनयमै सक्रिय भइन्। मेला महोत्सव, स्टेज कार्यक्रममा नृत्य पर्फम गर्छिन्। यसका साथै म्युजिक भिडियोमा अभिनय पनि। एउटा पर्फम गरेको कार्यक्रम हेरेर १० हजारदेखि ८० हजारसम्म पारि श्रमिक छ उनको।

यसरी काम र कमाइ चित्तबुझ्दो नै छ। तर पूर्णतया खुसी भने दिन सकेन नृत्यले। किन त ?   उनको बुझाइमा नेपालमा डान्सर भनेपछि आम मानिसको सही बुझाइ छैन। धेरैले त दोहोरी र बारमा नाच्ने होला भन्ने सोच्छन्। स्टेज पर्फम गर्न विभिन्न जिल्ला पुग्दा उनलाई अहिले पनि विभिन्न प्रश्नको सामना गर्नु परेको छ।

केही महिनाअघि उनी एक कार्यक्रममा नाच्ने तयारी गर्दै थिइन्, भद्र भलादमी देखिने एक पुरुष नजिकै आएर प्रश्न तेस्र्यायो, ‘तिमी बारमा नाच्ने केटी हो ? ’ यस्तो प्रश्नले बिनु नाजवाफ भइन्। ‘नाच्नु पनि एउटा काम, पेसा हो भनेर मानिसले बुझ्ने कहिले होला ? ’ उनी प्रश्न गर्छिन्। उक्त प्रश्नले बिनु धेरै रात निदाउन सकिनन्। बेकारमा यो पेसामा आएछु भन्ने पनि लाग्यो।

उनका मन मिल्ने साथी र अभिभावकले पनि प्रश्न गरिरहन्छन्, ‘यत्रो पढेको मान्छे किन नाचिरहेको होला ? ’ उनी अरूका कुरा नसुनेर आफ्नो भित्री मनको कुरा सुनेर नृत्यलाई निरन्तरता दिएकी छिन्। तर, मनोरञ्जन क्षेत्र महिलाहरूका लागि त्यति सुरक्षित लाग्दैन उनलाई। भन्छिन्, ‘गलत नियत भएका निर्माता निर्देशकबाट बचेर हिँड्नुपर्ने बाध्यता छ। पैसा खर्च गर्न सक्ने अभिनय नै नजानेका पनि मोडलिङमा आउँछन्। यसले गर्दा पनि मेहनत गर्नेहरूलाई गाह्रो छ।’

जे जस्तो भए पनि आउने समस्यासँग जुध्न तयार नै छन् बिनु। उनको विचारमा कामको लागि भनेर हरेक पक्षमा सम्झौता कदापि गर्न हुन्न। आफ्नो क्षमता बढाउँदै जाने र पेसामा अब्बल हुने हो भने हरेक पेसामा उत्कृष्ट परिणाम ल्याउन सकिन्छ। भन्छिन्, ‘जेसुकै होस्, म बूढी हुँदासम्म पनि नाचिरहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *