नारायणका सार्वजनिक शौचालय प्रयोग विहिन
मातृभूमी संवाददाता । १२ पौष दैलेख
दैलेख सदरमुकाममा केहि वर्षअघि निर्माण गरिएका सार्वजनिक शौचालय प्रयोग विहिन भएका छन् । नारायण नगरपालिका दैलेखले सर्वसाधारणका लागि करिव ५० लाखभन्दा बढी खर्चिएर निर्माण गरिएका ४ वटा सार्वजनिक शौचालय प्रयोग विहिन भएका हुन् ।
सर्वसाधारणहरुको पहुँच भन्दा टाढा शौचालय निर्माण गर्दा प्रयोगमा नआएको स्थानीयको भनाई छ । शौचालय प्रयोग विहिन हुँदा जिर्ण हुँदै गएको छ । ३ वटा शौचालय पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण नागरिकहरुले प्रयोग गर्न पाएका छैनन् । शौचालय कहाँ बनाउने भनेर छलफल नै नगरी मनोमानी रुपमा निर्माण गर्दा प्रयोग विहिन वन्दै गएको स्थानीयको भनाई छ ।
सदरमुकामको डेकेन्द्र चोकदेखि पश्चिम २ सय मिटर भित्र, गणेश चोकदेखि ५० मिटर पुर्व उद्योग वाणिज्य संघको आडमा, त्रिभुवन माविको परिसर भित्र र भगवतीटोल स्थित पुरानो बसपार्कमा गरि ४ सार्वजनिक शौचालय निर्माण गरिएको छ । भगवती टोलस्थित बसपार्क अहिले बन्द छ । गणेशचौकमा बनाएको शौचालय उद्योग बाणिज्य संघको भवनसँगै रहेको छ । निर्माण सम्पन्नसँगै लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन ।
शौचालय निर्माणपछि नगरपालिकाले शौचालय संचालनका लागि ठोस कार्ययोजना समेत नबनाएको स्थानीय टोपेन्द्र थापाले वताए । नगरबासीले सदरमुकाममा शौचालय बनाएको पत्तो समेत नपाएको थापाको भनाई छ । शौचालय बनाएपनि प्रयोग गर्नतर्फ नगरपालिकाले अहिलेसम्म ध्यानै दिन नसकेको उनको आरोप छ ।
स्थानीय वासिन्दा थापाले भने, ‘निर्माण भएदेखि अहिलेसम्म जाने बाटो र शौचालयमा ताला छ ।, सफा गर्ने र निश्चित पैसा उठाउनका लागि मान्छे राख्ने नगरपालिकाले सोच समेत अहिलेसम्म बनाएको छैन ।’ थापाका अनुसार ‘सदरमुकाम आउने नागरिकहरु खाजा खाने बाहानामा होटल तथा आफन्तकै घरमा पुगेर शौच गर्न बाध्य छन् ।’
नगरपालिकाले अनावश्यक ठाउँमा लाखौं रकम खर्च गरेको भएपनि नागरिकहरुलाई अत्यावश्यक ठाउँमा खर्चन नसकेको नगरबासीको गुनासो छ । नगर प्रमुख रत्नवहादुर खड्काले केहि समय अघि मातृभूमी अनलाईनसँग कुरा गर्दै शौचालय सुधार गरेर प्रयोगमा ल्याउने वताएका थिए । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन् । ४ वटा शौचालय निर्माणका लागि ५० लाख बढी खर्च भैसकेको छ । ठाउँ अभाव लगायतका कारणले बजारभन्दा अलि साइडमा बाध्यताले शौचालय निर्माण गर्नु परेको नगरप्रमुख खड्का वताउँछन् ।
शौचालय प्रयोगविहिन भएको वर्षाै वितिसक्दा पनि ति शौचालयलाई प्रयोगमा ल्याउनका लागी हाल सम्म पनि नारायण नगरपालिकाले खासै कुनै पनि योजना वनाउन सकेको छैन । खुल्ला दिशा मुक्त जिल्लासँगै देश पनि घोषणा भैसकेको छ । नारायण नगरपालिकाले सार्वजनिक महत्वका संरचना निर्माण गर्दा आम नागरिकको पहुँच पुग्ने स्थानमा निर्माण गर्न जरुरी देखिन्छ । यतातर्फ नगरपालिकाको ध्यान कहिले जान्छ त्यो भने हेर्न वाँकी छ ।