संघियता आउँदा पनि गाविसले स्वागत गर्दै
मातृभूमी संवाददाता । १३ पौष दैलेख
नेपालको संविधान २०७२ जारी भई नेपालमा संघियता लागु भैसकेको छ । तर यहाँका केहि स्थानीय तहमा भने संघियता पुर्णरुपमा लागु भैसकेको छैन । यसको ज्वलन्त उदाहरण हो साविकको वेलपाटा गाउँ विकास समिति र डाँडापराजुल गाउँ विकास समितिको सिमानमा रहेको प्रवेश गेट । मटेला खोला पुल नजिक रहेको सो गेटले अहिले पनि वेलपाटामा प्रवेश गर्नेहरुलाई गाउँ विकास समितिले स्वागत गरिरहेको छ भने वाहिरिनेलाई विदाई गरिरहेको छ ।
गेटमा अहिले पनि वेलापाटा गाउँ विकास समितिमा तपाईलाई हार्दिक स्वागत गर्दछौँ भनि लेखिएको छ । झट्ट हेर्दा साविकको वेलापाटा गाउँ विकास समितिले अहिले पनि स्वागत गरेको देखिन्छ । हालको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ रहेको वेलापाटाले गाविसकै रुपमा स्वागत गर्दा संघियता पुर्णरुपमा कार्यान्वयन भएको छैन की भन्ने भान हुने गरेको छ ।
दैनिक सयौँ यातायातका साधन, हजारौँ यात्रीहरु ओहोर दोहोर गर्छन् । संघियता कार्यान्वयन भै स्थानीय तहमा जनप्रतिनिधी आएको झण्डै अढाई वर्ष भै सक्यो । गाउँपालिकाको वडा नं. १ ले स्वागत गर्नु पर्नेमा साविकको गाविसले नै स्वागत गर्दा संघियता कार्यान्वयनमा आएको छैन की भन्ने भान हुने गरेको नारायण नगरपालिका वडा नं. २ का रामवहादुर वुढाले वताए । उनले भने, ‘जनप्रतिनिधी र वडा कार्यालयका कर्मचारीको लापवाहीका कारण अहिले पनि स्थानीय तहले नभई साविककै निकायले स्वागत गर्नु लज्जासपद हो ।’
सवैको नजर पर्ने मटेला पुल नजिक रहेको उक्त गेटमा स्वागत र विदाईका शव्दहरुलाई नजरअन्दाज गर्नु स्थानीय तहको लापरवाही हो । यस विषयमा सम्वन्धीत निकायले आवश्यक ध्यान दिन निकै जरुरी छ ।