विद्यालय र बस्तीमा स्ट्रेचर हस्तान्तरण

मातृभूमी संवाददाता । १६ पौष दैलेख
दैलेखको उत्तरपर्ने नौमूले गाउँपालिका–३ द्वारीका बस्ती र विद्यालयमा स्टेचर वितरण गरिएको छ । कोरियन रेडक्रसको सहयोगमा रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखद्वारा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनाले स्ट्रेचर वितरण गरेको हो ।
परियोजनाले ९ वटा बस्ती, ९ वटा विद्यालय र स्वास्थ्य चौकीलाई २ वटा गरी २० वटा स्ट्रेचर वितरण गरेको हो । नौमूले गाउँपालिका–३ का वडाध्यक्ष गगनबहादुर रोकामगर र रेडक्रस जिल्ला सभापति खेमराज केसीले एक कार्यक्रमका बिच समुदाय, विद्यालय र स्वास्थ्य चौकीलाई स्ट्रेचर हस्तान्तरण गरिएको हो । सबै टोल र बस्तीमा यातायातको सहज पहुँच नपुगेकोले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल सडकसम्म वा अस्पतालसम्म पु¥याउन स्ट्रेचर आवश्यक पर्ने भएकाले स्टेचर वितरण गरिएको हो ।
गत पुसमा द्वारीमा समयमै स्वास्थ्य चौकी पु¥याउन नसक्दा गर्भवती महिलाको ज्यान गएको थियो । ‘समयमै जानकारी पाएनौ, पाएपछि लैजान सकेनौ, स्थानीय तुल्सी रेगामीमगरले दुखेसो पोखिन । ‘गाउँमा समयमै स्ट्रेचर पाइएन अकालमा गर्भवती महिलाको ज्यान गयो ।’ स्ट्रेचरकै अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हटेर जाने उनले बताइन् ।
यस्तै द्वारीका चार सय १६ घरपरिवारलाई सरसफाईका सामग्रीहरु वाल्टिन, हातधुने सावुन लगाएत प्रदान गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोग गरिएका सिरिन्ज लगाएतका सामग्रीहरु नष्ट गर्न अत्याधुनिक इन्सुनेरेटर प्रदान गरिएको छ । कार्यक्रममा वडाध्यक्ष रोकामगरले दुर्गमका नागरिकहरुले स्टेचरको प्रत्यक्ष लाभ लिने बताए । उनले स्थानीयलाई स्वास्थ्य सरसफाईसँगै तरकारी खेतीमा जोड्नुपर्ने बताए ।