कम्यूनिष्ट सरकारले पञ्चायतकै शैलीमा सत्ता चलाए : खड्का

अमर सुनार । १६ पौष दैलेख
नेपाली काँग्रेस दैलेखका संस्थापक सभापति गणेशबहादुर खड्काले कम्यूनिष्ट सरकारले पञ्चायतकै शैली शासनसत्ता चलाएको आरोप लगाएका छन् । ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज दैलेखमा भएको विचार विमर्श कार्यक्रममा माले मसाले र मण्डले एउटै हुन् भन्ने सिद्ध भएको उनले टिप्पणी गरे ।
राष्ट्रिय स्वाधीनता माथि खतरा भएपछि ज्यानको बाजी लगाएर जननेता वीपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीति ल्याएपछि राजा बीरेन्द्र २०३६ सालमा जनमत संग्रहको घोषणा गरेको नेता खड्काले प्रष्ट्याए ।
नेता खड्काले आफू अव कुनै चुनावमा नलड्ने र पार्टीले खटाइदिएको जिम्मेवारीमा काम गर्ने बचन बद्धता व्यक्त गरे । उनी २०४८, २०५१ र २०६४ गरी तीन पटक प्रतिनिधिसभा सदस्य पदमा जितेपछि २०५२ मा निर्माण तथा यातायात सहायक मन्त्री र २०६६ मा स्थानीय विकास राज्य मन्त्री बनेका थिए ।
नेपाली काँग्रेस महासमितिका सदस्य खेमराज केसीले बर्तमान सरकार गरिब निमुखाको हितमा नभई माफिया र तस्करहरुको संरक्षणमा जुटेको आरोप लगाए । क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्याय काँग्रेस पार्टीभित्रको विवादको कारण हारेको जनाउँदै गुटबन्दी त्यागेर पार्टी संगठनलाई सशक्त बनाउनुपर्ने बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसीको सभापतित्वमा भएको विचार विमर्श कार्यक्रममा जिल्ला कार्यसमितिका सहसचिव टेकबहादुर कटुवाल, सदस्यहरु गणेशबहादुर शाही, लिलाराम लम्साल, महिला नेतृ बासना थापा, अधिवक्ता खड्गबहादुर सिजापति लगायतले वीपीको र राजनीतिक दर्शन र मेलमिलाप दिवसको महत्व बारे प्रकाश पारेका थिए ।
२०१७ सालमा निर्वाचित सरकार अपदस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि लामो जेल जीवनपछि भारत निर्वासनमा रहेको बेला भारतले सिक्किमलाई गाभेको, बाङ्लादेश र पाकिस्तानमा समेत लडाईं भइरहेको बेला नेपालको स्वाधीनता माथि खतरामा आइलाग्न सक्ने भन्दै वीपीले २०३१ पुस १६ गते काठमाण्डौं पुगेर राष्ट्रिय मेलमिलाप नीति घोषणा गरेका थिए ।
२०१५ को पहिलो संसदीय निर्वाचनमा १ सय ९ सदस्यीय प्रतिनिधिसभामा नेपाली काँग्रेसले एक्लै दुई तिहाई अर्थात ७४ स्थान जितेपछि वीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यका मुर्धन्य कथा र उपन्यास लेखेका कोइराला नेपाली काँग्रेसको राजनीतिक दर्शन समाजवादका प्रतिपादक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *