दैलेखमा ७ दशमलब ९० प्रतिशतले धान उत्पादनमा कमी
मातृभूमी संवाददाता । १९ पौष दैलेख
यहाँको जिल्लामा ७ दशमलब ९० प्रतिशतले धान उत्पादनमा कमी आएको छ । समयमै पानी नपरेका कारण धान उत्पादन घटेको हो । आर्थिक बर्ष ०७५।०७६ तुलनामा चालु आर्थिक बर्षमा ७ दशमलव ९० प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार चालु आर्थिक बर्षमा दैलेखमा २४ हजार दुई सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ । जस मध्ये बर्षे धान १९ हजार ८ सय १५ र घैया धान ४ हजार ४ सय ३९ मेट्रिक टन धान उत्पादन भएको हो ।
गत बर्ष २६ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष दैलेखमा बर्षे र घैया जातको धान खेती गरिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । आठ हजार तीन सय सात हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । ‘गत साउन अन्तिमसम्म पनि प्राप्त पानी नपरेका कारण धान उत्पादन घटेको हो,’ उनले भने । जिल्लाको आठबिस, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरबी, नौमूले, डुङ्गेश्वर गाउँपालिका लगायत क्षेत्रमा बढी उत्पादन हुने गर्छ ।
जिल्लामा ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन मध्ये ३४ हजार ४ सय ९७ हेक्टरमा खेती गरिन्छ । कुल खेती गरिएको २७ प्रतिशत अर्थात ९ हजार ६ सय ३८ हेक्टरमा सिचाईको सुविधा पुगेको छ । ‘उत्पादकत्व बढाउने लक्ष लिएपनि बर्षेनी उत्पादन घट्दो छ,’ पाण्डेले भने । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र धान रोपीसकेपछि पनि सिचाईको अभावका कारण उत्पादन घटेको पाण्डेको भनाई छ । जिल्लामा धानखेती लगाउने क्षेत्रफल बर्षेनी घट्दो छ ।कार्यालयको तथ्यांकअनुसार धान खेतीका लागि ९ हजार ६ सय ३८ हेक्टर जमिनमा सिचाइको व्यवस्था भएपनि मौसमी सिचाई ७ हजार १ सय ९ हेक्टर र वर्षभरी सिचाई हुने २ हजार ५ सय २९ हेक्टर रहेको छ । जिल्लामा धान खेतीका लागि सम्बन्धित निकायले सिचाईको सुविधा उपल्ब्ध गराएमा धान उत्पादन पाण्डेको भनाई छ । ‘उन्नत प्रविधि, सिचाईको सुविधा र हिउँदे धानखेती लगायत धान उत्पादन दोव्वर हुन्छ’ । ‘हावा पानीका हिसावले पनि दैलेख धान खेतीको लागि उपयूक्त मानिन्छ ।
जिल्लामा वर्षेनी धान उत्पादनमा कम र वृद्धि भएपनि कृषिप्रधान देश भएर पनि सोचेजस्तो उत्पादन नभएको नेपालमा वर्षेनी २५ देखि ३० अर्ब रुपैयाँभन्दा बढीको धान–चामल विदेशबाट आयात गर्नुपरेको यथार्थ छ । वर्षेनी खाद्यान्नको माग बढ्ने तर उत्पादनमा चाहिँ गिरावट आउने समस्याले नेपालको कृषिक्षेत्र विगत केही दशकयता थला नै परेको छ ।
दिन–प्रतिदिन खेतीयोग्य जमिन घरघडेरीका लागि प्लटिङ गर्ने क्रम बढिरहेकाले आगामी वर्षहरुमा नेपालमा धान उत्पादनमा कमी आउन सक्ने अधिकृत पाण्डे बताए । खेतीयोग्य जमिनमा बस्ती निर्माण गर्न नपाइने भन्दै नेपाल सरकारले ‘भूमि ऐन’ पारित गरी लागू गरिसके पनि व्यवहारमा भने उक्त ऐन अझै कार्यान्वयनमा आउन सकेको छैन ।