संघसंस्थाको सयोगले परनिर्भर वन्दै राउटे
मातृभूमी संवाददाता । २० पौष दैलेख
राउटे समुदाय पछिल्लो समय परनिर्भर वन्दै भएका छन् । काठका भाँडाकुँडा बनाएर जीवनयापन गर्दै आएको राउटे समुदाय पछिल्लो समय परनिर्भर वन्दै गएका हुन् । सहयोगका नाममा विभिन्न सरकारी तथा गैरसरकारीले संघ संस्थाले आफु खुशी सहयोग गर्दा राउटे समुदाय परनिर्भर बन्दै गएको हो ।
कु–काठका भाँडाकुँडाको बनाउन दिनभरि जंगल धाउने दोस्रो दिनमा बस्तीमा आएर बनाउने र तेस्रो दिनमा गाउँवस्तीमा विक्री गरेर जिविका चलाउँदै आएको यो समुदायलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले सहयोगको नाममा बजेट सक्न आवश्यकता भन्दा बढी सहयोग दिन थालेपछि राउटे समुदाय अल्छी बन्दै गएका छन् ।
पहिला जसरी उनीहरुले काठ खोज्दैनन् । भेटिएको कुकाठबाट भाँडाकुडा बनाउने त्यसलाई बस्तीमा गएर गैरसरकारी संस्थाले कम मुल्यमा खरिद गर्ने हुँदा उर्जाशिल राउटे अल्छी वन्दै गएका हुन् । उसो त राउटेका भाँडाकुडामा समेत राउटेको आयआर्जन गर्न संस्थाले कम मुल्यमा खरिद गर्ने, बढी मुल्यमा विक्री गरेर विचौलियाको काम गर्दै आईरहेको ठाटिकाँध गाउँपालिकाका नामबहादुर शाहीले बताए । उनले भने, ‘राउटे सँग १ सय ५० रुपैयाँमा खरिद गरिएका कोशी राउटेमा काम गर्ने संघ संस्थाले ६ सयमा विक्री गर्ने गरेका छन् । राउटेको जिवनयापन परिवर्तनका नाममा केही गैरसरकारी संस्थाहरु डलर कमाउनका लागि संस्कार नै बर्बाद गरिदिएको स्थानीय वुद्धिजीवीहरु वताउछन् ।

स्थायी बसोबास, लेखपढ र खेतीपाती महाशत्रु ठान्ने यो समुदायलाई गैरसरकारी संघसंथाहरुले सहयोगको नाममा कुलधर्म नै विगारीरहेको उनीहरुको आरोप छ । राउटे समुदायकै लागी काम गरिरहेको सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले राउटेको माग बमोजिम नै सहयोग गरिरहेको बताए । हामीले उनीहरुको इच्छा विपरित केही काम गरेका छैनौं थापाले भने, राउटे समुदायले कु–काठबाट आरी, खाट, मधुस, कोशी, पिर्का र झुमा बनाई विक्री गरि जिविका चलाउदै आएका थिए ।
मदिरा मोह

कुनै बेला काठको झुमामा तीन महिना अन्न कुहाएर चाडपर्वमा मात्र जाँड बनाएर खाने राउटे समुदाय आजभोली भने चौविसै घण्टा मदिरा पिउन थालेका छन् । राउटेमा आवश्यकता भन्दा बढी सहयोग चाहिने भन्दा नचाहिने बस्तु दिँदा राउटे कम मुल्यमा विक्री गरि मदिरा पिउन थालेका हुन् ।
राउटेहरुले पिउने गरेको लिची र सोफि कमसल खालको मदिरा हो । थोरै खाएमा पनि नशा दिने भएपछि त्यो समुदायको रोजाई लिची र सोफि परेको राउटे मुखिया सुर्यनारायण शाहीले बताए । धेरै पैसा पर्ने रक्सी खाउ भने पैसा हुदैन । कम पैसा पर्ने खाँदा नशा दिन्छ । रमाईलो हुने शाहीले वताए । राउटे समुदायका स–साना बालबालिका देखी गर्भवती महिला समेतले मदिरा पिउने गर्दछन् । मदिराकै कारण राउटे समुदायमा अहिले सम्म ३ जनाको मृत्यु भएको राउटे समुदायलाई नजिकै अनुसन्धान गर्दै आएका अछाम तुर्माखाँद गाउँपालिकाका धनबहादुर विसीले बताए । केहि समय अगाडी मदिराकै कारण राउटे युवा कपिन शाही थला परेका थिए । कपिनको अहिले काठमाण्डौमा उपचार भैरहेको छ ।
उसो त नेपाल सरकारले दिने लोपोन्मुख भत्ता अधिकाँश राउटेले मदिरामा खर्च गर्ने गर्दछन् । भत्ता आउने दिनमा राउटे बस्ती भन्दा नजिक रहेका पसललेहरुले उधारो दिने, बस्तीमा कमसल खालका सोफी र लिची पु¥याउने गरेको राउटेमा काम गर्दै आएका दैलेख आठविसका खकेन्द्रबहादुर शाहीले बताए । यदि राउटेमा मदिरा नियन्त्रण नगरे २० बर्षमै यो जाति लोप भएर जाने शाही वताउँछन् ।
लगानी अपारदर्शिता
राउटे समुदायका नाममा सरकारी एवं गैरसरकारी संघ संस्थाले गरेको लगानी अपारदर्शिता छ । राउटेमा कति बजेट आयो के–के प्रयोजनका लागि त्यसको अनुगमनमा सम्बन्धित निकाय चासो नदिदा राउटे समेत बेखबर छन् । २०६३ सालदेखी यो समुदायमा गरिएको खर्च के कति भयो अहिले सम्म एकिन छैन । राउटेले पनि हाम्रो लागि कति बजेट कसले दिएको हो । कुन कामका लागि आएको हो भनेर सोधीखोजी नगर्दा गैरसरकारी संस्थाले कम सहयोग दिई बढी बजेट खर्च भएको देखाउने गरेका छन् ।
सामाजिक सुरक्षाको भत्ता समेत अनिमियता भएको हुन सक्ने केही बुद्धिजिवी बताउँछन् । राउटेको यकिन तथ्यांक नराखेर कतिपय तत्कालिन जिविस, गाविस र गाउँपालिकाले १८० जना समेतलाई भत्ता दिएको भरपाई बनाएका छन् । राउटेको जनसंख्या २०६५ तत्कालिन जिल्ला विकास समिति दैलेखले गरेको जनगणना १५० रहेको थियो ।
अक्षर चिन्दै राउटे बालबालिका

दक्षिण एशियाको एक मात्र फिरन्ते जाति राउटे समुदायका बालबालिका पछिल्लो समय अक्षर चिन्न थालेका छन् । सरकारी एवं गैरसरकारी संघ संस्थाले राउटे समुदायलाई सामाजिकरण गर्नका लागि भन्दै राउटे बालबालिकालाई अक्षर चिनाउन थालेका हुन् ।
शिक्षालाई शत्रु ठान्ने यो समुदायका बालबालिका पछिल्लो समय शिक्षातिर रमाउन थालेका छन् । तर राउटे समुदायका बालबालिका आफुहरु स्कुल नगएर बस्तीमै पढेको वालक बृषबहादुर शाहीले बताए । उनले आफुहरु स्कुल नजाउने, पढाई लेखाई नगर्ने भएपनि आजभोली क ख र एक, दुई भन्न सिकेको वताए । उनले आफ्ना आमा बाबुले पढेको देखेपछि रिसाउने भएकाले लुकेर पढ्ने गरेको बताए ।
राउटे समुदायमा शिक्षा दिनका लागी बस्तीमा दुई जना कर्मचारी राखिएको सामाजिक सेवा केन्द्र सोसेका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । हाम्रा कर्मचारीले जवरजस्ती पढाउने गर्दैनन् । बालबालिकाको सहमति अनुसार नै शिक्षा दिईरहेको थापाले वताए । राउटेका किशोर किशोरी र बुढापाकाले शिक्षालाई शत्रु ठानेपनि बालबालिकाकाले पढाईमा रुची देखाएको राउटे समुदायका वालवालिकालाई पठनपाठन गराउँदै आएका लालबहादुर खत्रीले बताए । पढेको देखेपछि बुढापाका रिसाउने डरले बालबालिकालाई हामीले बस्ती भन्दा टाढा लिएर पढाउने गर्छौं त्यो पनि ती बालबालिकाकै सहमतिमा उनले भने ।
संस्कार विर्गादै एनजिओ
राउटेको धर्म, संस्कृति, संस्कार र चाहना विपरित केही एनजिओ आफ्नो स्वार्थ पुरा गर्नका लागि राउटेको काम गरिरहेका छन् । यो उनीहरुको धर्म विरुद्ध नै हो । बालबालिकालाई प्रलोभन देखाई शिक्षा दिनु राम्रो होइन यदि शिक्षा नै दिने हो भने राउटे समुदायका बुढापाकालाई सँगै राखेर दिदा राम्रो हुने वद्धिजीवीहरुको भनाई छ । के ठिक के बेठिक छुट्याउन नसक्ने ती कलिला बालबालिकाको बुद्धि विकास नभईसकेको बेला बालबालिकालाई प्रयोग गरि राउटेले पढे भन्नु राम्रो होइन भन्छन् राउटेसँग १४ बर्ष देखी अनुसन्धान गरिरहनु भएका फ्रान्सेली नागरिक नथालाइ ल्यामोयुरिक्स ।