राष्ट्रिय दलित पत्रकार संघ दैलेखको अध्यक्षमा रेडियोकर्मी बयलकोटी
मातृभूमी संवाददाता । २० पौष दैलेख
राष्ट्रिय दलित पत्रकार संघ दैलेखको प्रथम जिल्ला सम्मेलनले पृथ बयलकोटीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ । उपाध्यक्षमा टोपेन्द्र सोनी, सचिव कृष्ण दैलेखी, सहसचिव दुर्ग दर्जी, कोषाध्यक्ष कमला बीसी, सदस्यहरु सन्दीप बिक, करिना नेपाली समेत चयन भएका छन् । सम्मेलनले कार्यसमितिको सल्लाहकारमा सूर्य बिश्वकर्मा, बिशाल सुनार र अभिशेक अनुराग छन् भने निकट भविष्यमा हुने कर्णाली प्रदेश सम्मेलनमा दैलेखबाट हिक्मत नेपाली र मदन बिकलाई प्रतिनिधि चयन गरेको छ ।
सम्मेलन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा आर्थिक समितिका सभापति अम्मरबहादुर थापाले विगतमा गरेको विभेदलाई बिर्सेर अव अहिले कसले कसरी सद्भाव देखाएको छ भनेर सकारात्मक तरिका सहकार्यता बढाए विभेद छिटो निर्मूल हुने बताएका छन् । उनले अगाडि भन्नुभयो विभेद बिरुद्ध हामी जस्ता गैरदलितहरु जुटेको बेला दलित समुदाय आत्मबलका साथ अघि बढ्नुपर्ने सुझाव दिए । कर्णाली प्रदेशसभा आर्थिक समितिका सभापति थापाले दलित उत्पीडितहरुका लागि भनिएको लक्षित विकास कार्यक्रमहरु अत्यन्तै कमजोर र निमुखा दलितहरुका लागि लगानी गर्न सके मात्र प्रतिफल राम्रो हुने टिप्पणी गरे ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले दलितहरुको हीनतावोध हटाउन र पढ्दै गरेको विद्यार्थीमा विद्यालय छोड्ने समस्या निवारणमा ध्यान दिनुपर्ने औल्याए । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले दलितको आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सचिव अमर सुनारले दलित समुदायका पत्रकारहरुवीच आपसी एकता र जातीय विभेद समस्यालाई दरिलो ढंगले उठाउन यो संगठनको स्थापना भएको प्रष्ट्याए ।
पेशागत संगठनहरुका तर्फबाट नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी, राजनीतिक दलहरुका तर्फबाट नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मीकुमार बिक, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष हिक्मत नेपाली लगायतले नेपाली पत्रकारिता र जातीय विभेद सवाल विषयमा प्रकाश पारेका थिए ।
२०७६ जेठ १८ गते काठमाण्डौंमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार संघको २३ सदस्यीय केन्द्रीय समितिमा दैलेखका अग्रज पत्रकार अमर सुनार केन्द्रीय सचिव छन् । संघले दैलेख समेत २८ जिल्लामा समिति गठन गरिसकेको छ भने माघ पहिलो सातासम्म सात वटै प्रदेशमा प्रदेश सम्मेलन गरिसक्ने योजना बनाएको छ ।