चामुण्डाविन्द्रासैनीका मेयरको कार्यकक्षमा तालाबन्दी

मातृभूमी संवाददाता । २० पौष दैलेख
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले तालावन्दि गरेको छ । नगरपालिकाद्वारा सञ्चालित विभिन्न विकास कार्यमा अनियमितता भएको आरोप लगाउँदै नेपाली कांग्रेसले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो । नगरपालिकाको कामकारबाही प्रभावकारी नभएको र लामो समयदेखि गुणस्तरीय काम गर्न सुझाव दिँदा पनि अटेर गरेपछि बाध्य भएर तालाबन्दी गरिएको कांग्रेस नेता गणेश शाहीले बताए । शाहीले मजुवा खानेपानीमा भ्रष्टाचार भएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण र गरिबसँग विश्वेश्वर कार्यक्रम पनि मेयर निकटका मानिसहरू मार्फत सञ्चालन गरेर अनियमितता गरेको वताए ।
पटक–पटक सुशासन र पारदर्शिता कायम गर्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि वाध्य भएर तालाबन्दी गर्नु परेको वार्ता टोलीका संयोजक राजेश शाहीले बताए । कांग्रेसका नगर सभापति जगतबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुईपटक वार्ताको प्रयास गरिए पनि मेयरले वास्ता नगरेकाले बाध्य भएर तालाबन्दी गरिएको उल्लेख गरिएको छ ।
मेयर सूर्यबहादुर शाहीले आरोप सत्य नभएको भन्दै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । मेयर सूर्यबहादुर शाही दैलेख सदरमुकाममा छन् भने प्रमुख प्रशासकीय अधिकृत बिदामा छन् । दुवै जना नभएको बेलामा तालाबन्दी गरिएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!