दैलेख प्रहरीद्धारा १४ हजार ७ सय ८२ लिटर अवैध मदिरा नष्ट

मातृभूमी संवाददाता । २२ पौष दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले अवैध मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिएको छ । अवैध मदिरा उत्पान गरी विक्रि वितरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले अभियान स्वरुप मदिरा नियन्त्रणमा सक्रियता देखाएको हो ।
सदरमुकाम लगाएत विभिन्न स्थानीय तहमा यो अभियानलाई तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिवहादुर वलीले वताए । अवैध मदिरा सेवनवाट समाजमा विभिन्न खाले हिंसा तथा झै झगडामा कमि होस् भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले यो अभियानलाई निरन्तरता दिएको प्रहरी प्रमुख वलीले वताए ।
‘चार्डपर्वमा मात्र नभई यो अभियानलाई हामिले नियमितता दिदै आएका छौं’ प्रहरी प्रमुख वलीले भने, ‘अत्याधिक मदिरा सेवन गरेर झै–झगडा तथा घरेलु हिंसाका घटनाहरु घटेको भन्दै अवैध घरेलु मदिरा नियन्त्रण गरी नष्ट गर्ने गरिएको छ ।’ जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीय जनप्रतिनिधि, आमा समुह लगाएत सरोकारवाला निकायसंग समन्वय गरेर अवैध मदिरा नियन्त्रण गरेको प्रहरी प्रमुख वलीले वताए ।
समाजमा अधिकांस घटनाको प्रमुख कारक मानिने मदिरा सरोकारवालाको सहयोगमा नियन्त्रण अभियानलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रहरी प्रमुख वलीको भनाइ छ । सोमवार मात्र नारायण नगरपालिका वडा नं. ६ नयाँगाउँवाट प्रहरीले ८७५ लिटर अवैघ मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।
विगत चार महिना यता जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख सदरमुकाम लगाएत अन्य स्थानीय तहका व्यापारी केन्द्रहरुमा गरेको अनुगमनमा करिव १४ हजार ७ सय ८२ लिटर अवैध मदिरा नियन्त्रण गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्यांकमा उल्लेख गरिएको छ । ३ हजार २ सय ५५ लिटर मदिरा र ११ हजार पाँच सय २७ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
दैलेख नारायण नगरपालिकामा १ हजार ३४ लिटर मदिरा र ६ हजार ३ सय १५ लिटर कच्चा पदार्थ फेला पारी नष्ट गरिएको छ । भगवतीमाई गाउँपालिकाको वेस्तडा बजारमा ५ सय ६७ लिटर मदिरा र ५ सय ५० लिटर कच्चा पदार्थ, दुल्लु नगरपालिकावाट २ सय ९८ लिटर मदिरा र १ हजार ७ सय ३५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
त्यस्तै डुंगेश्वर गाउँपालिकामा २ सय २० लिटर मदिरा र ४ सय लिटर कच्चा पदार्थ, महावु गाउँपालिकामा ९० लिटर मदिरा र ४ सय ९० लिटर कच्चा पदार्थ, आठविस नगरपालिकामा २ सय लिटर मदिरा र १ हजार १ सयि ५ लिटर कच्चा पदार्थ फेला परेको थियो ।
चामुण्डाविन्द्रसैनी नगरपालिकामा ३ सय ६० लिटर मदिरा र ८ सय ६५ लिटर कच्चा पदार्थ, भैरवी गाउँपालिकामा २० लिटर मदिरा, गुँरास गाउँपालिकामा ३५ लिटर मदिरा र ६० लिटर कच्चा पदार्थ, ठाँटिकाँध गाउँपालिकामा २५ लिटर, नौमूले गाउँपालिका ४ सय ६ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सई सुर्य खड्काले जानकारी दिए । प्रहरी प्रमुख वलीका अनुसार भदौ र असोजमा मात्र १६ सय ५३ लिटर अवैध घरेलु मदिरा र ४३ सय ९७ लिटर कच्चा पदार्थ गरी ६ हजार ५० लिटर नियन्त्रणमा ल्याई नष्ट गरिएको छ ।