गुराँसका विभिन्न ३० विद्यालयमा विद्युतिय हाजीरी सुरु
मातृभूमी संवाददाता । ३ माघ दैलेख
दैलेखको गुराँस गाउँपालिकाका विभिन्न ३० सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको छ । शैक्षिक सुधारका लागी यहाँका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको हो । नियमित हाजिरी कायम गर्दै शिक्षकहरुलाई शिक्षामा प्रतिबद्ध बनाउन भन्दै यस्तो प्रणाली सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि विभिन्न वडाका १३ वटा माध्यामिक विद्यालयमा विद्युतीय हाजिरीको सुरुवात गरिसकेको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक नेपाल दैलेख मार्फत सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा विद्यालयमा विद्युतीय हाजिरी लागु गरिएको जनाईएको छ । परियोजनाको ६ लाख ३० हजार रुपैयाँको लागतमा विद्युतीय हाजिरी लागु गरिएको सोसेकका कार्यक्रम निर्देशक नवराज विसीले बताए । विद्युतीय हाजिरी कायम भएसँगै शिक्षकहरु नियमित कक्षामा संवेदनशील बन्ने अपेक्षा गरिएको निर्देशक विसीको भनाई छ । अहिले शिक्षकहरुलाई दैनिक र समयमै विद्यालयमा पुगी पठन–पाठन गर्न सहज भएको उनले बताए ।
विद्युतीय हाजिरीमा शिक्षकहरु नियमित विद्यालयमा आउने, नआउने, विद्यालय बाहिर, विद्यालयको समयावधिभित्र प्रवेश, बिदामा उपस्थित, पठनपाठनको बीचैमा गयल जस्ता विभिन्न क्रियाकलापबारे तथ्यांक रहने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले वताए ।