कांग्रेसको सरकारलाई विरोधपत्र
मातृभूमी संवाददाता । ५ माघ दैलेख
प्रमुख विपक्षी दल नेपाली कांग्रेस दैलेखले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै सरकारलाई विरोधपत्र वुझाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको नेपाल प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए । दैलेख सदरमुकाममा भेला भएर काँग्रेस नेता कार्यकर्ताले जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर सरकारलाई विरोधपत्र वुझाएका हुन् ।
विरोधपत्र बुझाउँदै नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले सरकारले सूचना प्रविधि विधेयक मार्फत आम नागरिकहरुको विचार अभिव्यक्ति स्वतन्त्रता हत्या गर्ने कुचेष्ठा गरेको आरोप लगाए । बर्तमान दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले एक पछि अर्को विधेयक ल्याएर नागरिक अधिकार नियन्त्रण गर्न खोजेको सभापति विसीको भनाई छ ।
लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको सभापति विसिले वताए । कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए क्रमशः आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले तत्काल नै गृहमन्त्रालयमा पठाउने बताएका थिए ।
सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधान सहित विधेयक पास गरेर संसदमा पठाएको छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्न सक्ने लगायतका प्रावधान छ ।