दोसाँधमा महिला : दैलेखमा २ सय ६ छाउगोठ भत्काईयो
मातृभूमी संवाददाता । ५ माघ दैलेख
गृह मन्त्रालयको निर्देशनमा कर्णाली प्रदेश र सुदुरपश्चिममा धमाधम छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । सरकारले जबरजस्ती गोठ भत्काउनु नारीलाई न्याय दिलाएको महसुश संघीय सरकार, प्रदेश र स्थानीय सरकारले गरिरहेको छ । गोठ भत्काई सकेपछि ती नारीले कसरी रात बिताउलिन् भन्नेमा सरकारले हेक्का राखेको छैन ।
गोठ भत्काउने बित्तिकै ती नारी घर भित्र जालिन् त ? विगतदेखि मान्दै आएको छुइनेरी प्रथालाई ती महिलाका आमा बाबु, सासु, ससुराले सहज स्वीकार गर्लान् त ? गोठ भत्काउने बित्तिकै महिनावारी भएकी महिलाले देवी देवताको डर मान्न छाड्लिन् त ? अवश्य पनि त्यो हुँदैन । यो प्रथा संस्कार जोडिएकोले गृह मन्त्रालयको निर्देशन बमोजिम सजिलै न्यूनीकरण होला जस्तो लाग्दैन ।
स्थानीयबासीमा जनचेतना नजगाइकन सेनेटरी प्याड वितरण र छाउपडी गोठ भत्काउने बित्तिकै छाउप्रथा नहट्ने नेमकिपाका दैलेखका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताइन् । ‘सरकारले अन्धविश्वास कुरितीमा रहेको छाउपडी प्रथालाई नारी सजिनका लागि ओठमा लगाएको लिपिस्टक जस्तै ठान्नु नै गलत हो । यो अभियानले नारीलाई न्याय दिनुको साटो झनै खुल्ला आकाशमुनी रात बिताउनु पर्ने बाध्यता बनाई दिएको छ । जनचेतना जगाएर छाउगोठ भत्काउँदा राम्रो हुन्थ्यो । ’
सरकारी ऐन छाउपडी प्रथालाई कुरिती मान्नु राम्रो भएपनि तत्कालै गोठ भत्काउनु उचित नभएको आठविस नगरपालिकाका स्थानीयबासी भनाई छ । ‘आजभोली महिला दोसाँधमा छन् । सरकारी ऐन मान्ने की देउता मान्ने ? देवताले नछुने भएको बेला घर बाहिर जा भन्छ । सरकारले कुरिती र अन्धविश्वास हो भनेर घरमै बस भन्छ । हामी दोहोर मारमा परेका छौं । देउताका धामी र सरकारका मान्छेका पदाधिकारी भएर छिटो टुग्याउँदा सजिलो हुने चामुण्डाविन्द्रासैनी –३ की पुुन्नकला शाहीले दुखेसो पोखिन् ।’
छाउगोठ भत्काए पनि अझै अधिकांश महिलाले ग्रामीण भेगमा लुकी÷लुकी छाउ बार्ने गरेको ठाटिकाँध गाउँपालिकाका उदयराम रावतले बताए । उनले भने, ‘हामीले छाउ हुँदा घरमै बस भन्छौं । देवी देउताले बालबालिकालाई बिरामी बनाई दिने हुनाले आउन नै मान्दैन । महिलाले नै छाउ बार्ने गरेका छन् । बरु सरकारले व्यवस्थित छाउगोठ बनाउन लगाउँदा राम्रो हुन्छ । छाउ भएकै बेला सर्प टोक्छ भन्नु गलत हो ।’ घरमै सुतेका कतिपय मान्छेको सर्प टोकेर मृत्यु भएको उनले जानकारी दिए ।
ग्रामीण भेगका पत्रपत्रिका पुग्दैनन् । पुगेपनि अधिकांश महिला बुढापाकाले पढन जान्दैनन् । घरायसी कामले गर्दा रेडियो सुन्ने फुर्सद हुदैन । त्यस्तो ठाउँमा बेलुकापख बस्ती बस्तीमा भिडियो मार्फत कानुन र नछुने हुँदा भोग्नुपर्ने पिडाको बारे जनचेतना जगाउन सके न्यूनिकरण हुन सक्ने नेपाली काँग्रेसका जिल्ला सहसचिव रत्नबहादुर शाहीले बताए । स्थानीय सरकारले बस्तीमा सामुदायिक भवन बनाई बेलुकापख कानुन सम्बन्धित कुरा प्रसारण गर्न लगाउने कुरसंस्कार छाउपडी प्रथाले दिगो विकासमा कसरी असर गरेको छ भन्ने चेतना मुलुक कार्यक्रम देखाउँदा राम्रो हुने उनको भनाई छ ।
दैलेखमा २ सय ६ छाउगोठ भत्काइयो
गृह मन्त्रालयको निर्देशनसँगै दैलेखमा २ सय ६ वटा छाउपडी गोठ भत्काइएको छ । २०७६ पुस २१ देखी माघ ४ सम्म छाउगोठ भत्काउने अभियानमा २ सय ६ छाउगोठ भत्काइएको हो । दैलेखको पश्चिममा पर्ने आठविस नगरपालिकामा सबैभन्दा बढी छाउगोठ भत्काईएको छ । सुदुरपश्चिमको अछामसँग आठविस नगरपालिकाका नजिकै भएकाले त्यहाँ छुटै छाउगोठ भएको सबै भन्दा बढी १ सय १२ छाउगोठ रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
त्यसैगरी भैरवी गाउँपालिकामा ५८ वटा, दुल्लू नगरपालिकामा १३ वटा, गुराँस गाउँपालिकामा ३ वटा, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० वटा छाउपडी गोठ भत्काइएको हो । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पुर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमुले गाउँपालिकामा एकवटा गोठ पनि भत्काईएको छैन ।
ठाटिकाँध गाउँपालिकामा छुट्टै छाउपडी गोठ नभएको घरकै गाई गोरु बाँध्ने ठाउँमा छुईनेरी बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काईएको जिल्ला प्रहरी दैलेखका प्रहरी निरिक्षक नैनबहादुर साउदले जानकारी दिए ।
उनले भने, ‘म आफै ठाटिकाँध गएको छु । छुट्टै छाउ गोठ छैन । छुईनेरी घरकै गोठमा बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले छाउपडी बार्ने गर्दा कानुन लाग्छ भनेर सम्झाई बुझाई गरेका छौं’ उनले भने । ‘छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमुले, र डुगेश्वर गाउँपालिकाम पनि त्यस्तै समस्या भएको हुन सक्छ’, साउदले भने ।