छाउप्रथा अन्त्यका लागी सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ्ग

मातृभूमी संवाददाता । ८ माघ दैलेख
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउप्रथा कायमै रहनु नेपालका लागि लज्जास्पद् भएको बताएका छन् । छाउ प्रथाको अवस्था वुझ्ने क्रममा कर्णालीको भ्रमणमा रहेका मन्त्री गुरुङ्गले छाउगोठ भत्काएपनि मनभित्रको छाउगोठ उस्तै रहेको पाईएको बताए छन् ।
दुल्लु नगरपालिकाले मंगलवार आयोजना गरेको ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री गुरुङ्गले ‘अन्धविश्वास र सामाजिक कुरितिको रुपमा रहेको छाउप्रथा सरकारले अन्त्य गरेरै छोड्ने दावी गरे । त्यसका लागि तीनै तहका सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको मन्त्री गुरुङ्गको भनाई रहेको थियो । एक फरक प्रसंगमा मन्त्री गुरुङ्गले कर्णालीको समृद्धिका निम्ती सरकार प्रतिबद्ध रहेको समेत बताए ।
यस्तै अन्तक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले छाउपडी विरुद्ध सरकार गम्भिर भएर लागि परेको बताए । देवी देवता मान्ने सोचबाट गलत संस्कार र संस्कृति कायमै रहेको बताउँदै राज्यमन्त्री रावतले भने ‘आम जनताको पक्षमा सरकारले कुनै पनि काम गर्न पछि हट्दैन ।’ प्रतिनीधि सभाका सांसद राजबहादुर बुढाले दैलेखमा छाउपडी प्रथाकै कारण आफुलाई लज्जाबोध हुने गरेको बताए । ‘महिनावारी हुँदा महिलाहरुलाई छुवाछुत गरिन्छ, विभेद गरिन्छ भनेर कही कतै नसुनिने तर नेपालमा मात्रै किन यस्तो ? उनले प्रश्न समेत गरे । ठट्यौली शैलीमा सांसद बुढाले भने ‘नेपाल भ्रमण बर्ष २०२० मा पर्यटन मन्त्रीलाई छाउगोठ घुमाउन ल्याउनुप¥यो ।’
सांसद पार्वती कुमारी विशुन्केले प्रकृतीले दिएको देनलाई देवता रिसाउने नाममा बुद्धिजिवीहरुले नै छाउप्रथा जोगाई राखेको बताइन् । किंवदन्तीको रुपमा कुनैबेला इन्द्रले गरेको पाप अहिले आएर महिलाहरुले भोग्नुपरेको उनको भनाई थियो । कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, गंगा चौधरी, हिरा गुरुङ्ग लगाएतले अन्धविश्वास र कुरितको रुपमा रहेको छाउप्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *