ओझेलमा पर्यटकीय क्षेत्र

भिम वहादुर सिजापति । ८ माघ दैलेख
दैलेख जिल्ला धार्मिक एवम् पर्यटनको दृष्टिले महत्वपूर्ण मानिए पनि उचित प्रचार–प्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेका छन् । रमणीय पंचकोशी ज्वाला क्षेत्र लगाएत जिल्लाका थुप्रेै धार्मिक महत्व बोकेका विभिन्न पर्यटकीय गन्तव्य समेत रहेका पर्यटकीय क्षेत्र पुर्वाधार अभावले ओझेलमा पर्दै गएका हुन् ।
जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न नसक्दा पर्यटन क्षेत्र ओझेलमा परेको बताउँछन् नारायण नगरपालिका वडा नं. १ का स्थानीयवासी विनोदकुमार श्रेष्ठ । ‘बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ’ श्रेष्ठले भने, ‘सरकारी संयन्त्र र संघ संस्था पनि पर्यटनप्रति उदासिन छन्, गन्तव्य स्थलसम्म पुग्न सडक सुविधा छैन ।’ दैलेखमा पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।
पञ्चकोशी क्षेत्रबाट जिल्लाले खासै फाइदा लिन नसकेको नारायण नगरपालिका वडा नं. २ का स्थानीयवासी टोपेन्द्र थापाको भनाई छ । थापाले भने, ‘पञ्चकोशी क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण छ । तर त्यस क्षेत्रमा कच्ची सडक पुगे पनि अन्य पर्यटकीय पूर्वाधारको पहँुच छैन । सामान्य खाना, आवासको समेत असुविधा छ । पञ्चकोशी क्षेत्रको श्रीस्थान तथा नाभिस्थानमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटक मोटरसाईकल तथा निजि गाडी रिर्जव गरी मन्दिरको दर्शन गरेर फर्कन्छन् ।’
देशको एकमात्र अखण्ड ज्वाला वलीरहने पञ्चकोशी राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि पञ्चकोशी पूर्वाधार नभएकै कारण पछि परेको वताउँछन् दुल्लु नगरपालिका १० का स्थानीय रामवहादुर शाही । शाहीले भने, ‘श्रीस्थान तथा नाभिस्थान लगाएत अन्य केहि क्षेत्रमा पुग्ने सडक सामान्यतया सुधार भएपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट रूपमा घुम्न जाने क्रम शुरु भएको छ ।’
‘पञ्चदेवल पुग्नका लागी वाटो चौडा गरिएको नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले वताए । ‘नारायण नगरपालिका क्षेत्रमा रहेका ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाको प्रचार–प्रसारका लागी वृतचित्र निर्माण गरि विभिन्न ठाउँमा प्रदर्शन गर्न सके साथै काठमाण्डौ, नेपालगन्ज र सुर्खेत एयपोर्ट तथा काठमाण्डौ वसपार्क, थानकोट नाका, हर्रेको डाडाँ, गुराँसेको डाँडा लगाएतका क्षेत्रमा होर्डिङ वोर्डहरु राख्न सके प्रचार–प्रसार हुने अध्यक्ष न्यौपानेको भनाई छ ।
पञ्चकोशी क्षेत्रसँगै जिल्लामा अन्य दर्जनौँ पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचार–प्रसारको अभावले ओझेलमा छन् । दैलेखको नौमुले गाउँपालिकाको द्धारीमा रहेको द्धारी झरना, चमेरेगुफा, नौमुल, गिद्ध नुहाउने ठाउँ, ठाँटिकाँध गाउँपालिकाको मदानतनल, धौलापडा, मालिका मन्दिर, नाँकेगुफा, भिमका पाईला, डुङ्गेश्वर गाउँपालिकाको कुईयाँताल, दुल्लु नगरपालिकाको कृतिखम्व, दुल्लु दरवार, पाथरनाउली, सात खम्व, पौवा दरवार, नाभिस्थान, धुलेश्वर, पादुका, तल्लोडुङ्गेश्वर र नारायण नगरपालिकाको कोतवढि, पाँचभाई पाण्डवद्धारा निर्मित पञ्चदेवल, वेलासपुर, कोटिला, भैरवी गाउँपालिकाको भैरवी, श्रीस्थान, पंचदेवल लगाएतका अनगिन्ति सम्पदा यस क्षेत्रका महत्वपुर्ण पर्यटन गन्तव्य हुन् ।
दैलेख सदरमुकाम बाहिरका कतिपय पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पनि पुग्न सकेको छैन । पर्यटन प्रवद्र्धनमा सम्बन्धित निकायको चासो नपुग्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको वताउँछन् ठाटीकाँध गाउँपालिका ३ का स्थानीयवासी मदन शाही । ‘पर्यटकीय क्षेत्रमा कसैको पनि चासो देखिन्न’ उनले भने ।
नारायण नगरपालिका दैलेख नगरप्रमुख मेयर रत्नवहादुर खड्काले ‘नारायण नगरपालिका भित्र रहेको पर्यटकीय क्षेत्रको फिजिविलिटी अध्यानका लागी विज्ञहरुसँग परामर्श भईरहेको र सहयोगी संस्थाहरुको खोजि गरी नारायण नगरपालिका साझेदारी गर्न तयार रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *