शिक्षक छनौटमा अनियमितता भएको भन्दै डुङ्गेश्वरका ३ जना अख्तियारको नियन्त्रणमा
मातृभूमी संवाददाता । ९ माघ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका ५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिका संयोजक भक्त बहादुर शाही सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
आयोगले २०७६ माघ ०९ गते प्रेस विज्ञप्ति जारी गरि अध्यक्ष शाही सहित शिक्षक पदमा छनौट भएका घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर विकलाई नियन्त्रणमा लिईएको जानकारी दिएको छ ।
सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समिति संयोजक शाहीले निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषयको शिक्षक नियुक्ती प्रक्रियामा अनियमितता गरेको भन्दै अनुसंधानका लागि नियन्त्रणमा लिईएको जनाएको छ ।
आयोगको सुर्खेत स्थित कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाबाट गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जर मार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा सुर्खेतबाट अनुसन्धान हुँदा अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा नियन्त्रणमा लिई अनुसन्धानका लागि राखिएको उल्लेख गरिएको छ ।