‘गाउँमा सिंहमात्रै आए’

मातृभूमी संवाददाता । ९ माघ दैलेख
संघियता सँगै गाउँमै सिंहदरबार आए । गाउँको विकास गाउँबाटै हुने भएपछि स्थानीयबासी खुशी पनि भए । हाम्रा सुदिन फर्किने भए भनेर । विकासको लागि मुख मिठ्याउने जनता त्यतिखेर अचम्ममा परे । जब स्थानीय सरकारमा अनियमित्तता भ्रष्टाचार मौलाउन थाल्यो । स्थानीय बासीले भन्नथाले,“गाउँमा सिंहदरबार आएको रहेनछ । सिंह मात्र आएका रहेछन् । ”
दैलेखमा ११ वटा स्थानीय सरकार छन् । सबै स्थानीय तहमा अनियमित्तता र भ्रष्टाचार उत्तिकै मौलाएको छ । अनियमित्तता र भ्रष्टाचारलाई न्यूनीकरण गरी स्थानीय तहमा सुशासनको प्रवद्र्धन गर्नका लागि जिल्लाका नागरिक समाज एकजुट भएका छन् । नागरिक समाजले ‘साझेदारी र खबरदारी’ लाई आत्मसाथ गर्दै अभियान चलाउने भएका छन् । जसले गर्दा स्थानीय सरकारमा भएको अनियमितता र भ्रष्टाचारलाई न्यूनिकरण गरि स्थानीयबासीले सुशासनको अनुभुति महसुस गर्ने छन् ।
विहिवार दैलेख सदरमुकाममा भएको पारस्पारिक जवाफदेहिता अन्तरक्रिया कार्यक्रममा अधिकाँश सहभागीको यस्तै जिज्ञासा राखेका थिए । दैलेख नारायण नगरपालिकाका यमराज थापाले नारायण नगरपालिकाले रिङरोड बनाउन लागेको कुरा सुनेको तर कस्तो खाले हो । कति मिटर हो । जनतालाई स्वतः प्रकाशन गरी सूचना दिनुपर्ने ठाउँमा नाराण नगरपालिकाले सूचना लुकाउने गरेको आरोप लगाए । उनले भने, ‘रिङरोडको बारे नगरबासी सबै बेखबर छन् । कति मिटर फराकिलो सडक हो । कति बजेटको हो । बजेट संघिय सरकारको होकी ? प्रदेश सरकार वा नगरको म पनि अनविज्ञ छु । यसको बारे बुृहत छलफल गरि काम अगाडी बढाउनुपर्छ ।’ केही जनप्रतिनिधीले १० मिटर मात्र रिङरोड हो भनेर जनता झुक्काउने काम गरेको उनको आरोप थियो ।
त्यसैगरि सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष मणिराम शर्माले स्थानीय सरकारले जथाभावी सडक निर्माण गरि वन विनाश गरेकोमा चिन्ता व्यक्त गरे । सामुदायिक वनलाई बैज्ञानिक वन व्यवस्थापनका नाममा नेपालको हरियो वन सिध्याउने मेशो भएको छ । हिजोका दिनमा माना चामल उठाएर वन जोगाउने स्थानीयबासीलाई बैज्ञानिक वन व्यवस्थापनका नाममा वन नोक्सान हुने र तस्करलाई फाइदा पुग्ने हुनाले वैज्ञानिक वन व्यवस्थापनलाई खारेजी गर्नुपर्ने माग राखे । हरियो वन हाम्रो जनजीविकासँग जोडिएको र पर्यटकलाई आर्कषण गर्ने हुँदा यसलाई जोगाई राख्नुपर्छ उनले थपे । वैज्ञानिक वन कस्तो म आफैलाई थाहा छैन । सस्तो नारा ल्याएर केही तस्करहरुको मिलेमत्तोमा वन फडानी हुन लागेको छ म चिन्तामा छु ।
स्थानीय सरकार नितिगत भ्रष्टाचारका अखडा बन्दै
जिल्लाका ११ वटै स्थानीय सरकारमा नितिगत भ्रष्टाचारको अखडा बन्दै गएको पारस्पारिक जवाफदेहिता कार्यक्रमका एक सहभागीले बताए । उनले कर्मचारीका पालामा लक्षित वर्गको बजेट विनियोजन हुन्थ्यो । जनप्रतिनिधी आएपछि टुक्रे योजनामा बजेट विनियोजन गरेर राजनिति कार्यकर्ता पाल्न थालेको आरोप लगाए ।
अहिले सबै स्थानीय सरकारले विकासको लागि सडक मेरुदण्ड भएको भन्दै धमाधम सडक खन्ने काम गरेका छन् । विना डिपिआर, विना ईन्जिनियर खनिएका सडकले अधिकाँश किसानको उत्पादनशिल जग्गा माटोले पुरिएर कृषि योग्य जमिन नाश भएको छ । जनता लाभान्वित भएका छैनन् । नजिकको कार्यकर्ता उपभोक्ता समितिको मुख्य–मुख्य पदमा राखी डोजर प्रयोग गरि नितिगत भ्रष्टाचार गरेका छन् ।
सोसेकका प्रतिनिधी रमा श्रेष्ठले जिल्लाका ११ वटै स्थानीय सरकारमा लैंङ्गिक परामर्शदाता र कानुनी सल्लाहकार नहुँदा महिलाका समस्या जिउका त्यूँ नै रहेको बताईन् । उनले भनिन्, ‘न्यायिक समिति मात्र भएर हुदैन । न्याय लिन आउने महिलाका लागि स्थानीय सरकारले सेल्टरको व्यवस्था गर्नुपर्छ ।’
जिल्लाका निजी विद्यालय र सहकारी संस्थामा श्रमिक ऐन लागु नभएको नेपाल शिक्षक संघका अध्यक्ष कृष्ण थापा बताए । अधिकाँश सामुदायिक विद्यालय र सहकारीमा कार्यरत कर्मचारीले ४ हजार देखी ५ हजारसम्म पारिश्रमिक मात्र पाउने गरेको खुलासा गरे । नेपाल सरकारले ल्याएको श्रमिक ऐनमा उल्लेख भए बमोजिम पाउँदैन । तिनी संस्थाहरुले श्रमश्रोषण गरिरहेका छन्,उनले भने । नारायण नगरपालिकाले २१ जना कार्यालय सहयोगी राखेको भन्ने खबर आएको छ । तर ती कर्मचारी को हुन् भन्ने नगरबासीलाई थाहा छैन । यो सरासर अनियमितता हो । कहाँबाट तलब भत्ता खुवाईएको छ । यसको खोजीनिति हुनुपर्छ थापाले भने ।
त्यसैगरि प्रेस युनियनका सभापति भुपेन्द्रबहादुर शाहीले नागरिक समाजको आफ्नो दायित्व र कर्तव्य पहिले आफैले पुरा गर्नुपर्ने बताए । शाहीले भने, ‘जिल्लाका नगरपालिका र गाउँपालिकाहरुले उपभोक्ता समिति र ठेक्का पट्टाबाट हुने कामहरुको समयमै सम्झौता नगर्नुको पछाडि रहस्य छ । फागुन महिनामा नगरसभा र गाउँ सभाबाट योजना रकमान्त्तर गर्ने आफ्ना आसेपासे कार्यकर्ता पोस्ने उद्देश्य रहेको देखिन्छ । समयमै योजना सम्झांैताका काम शुरु गनुपर्दछ ।’ उनले थपे, प्रत्यक्ष योजनाबाट कट्टी हुने कन्टेन्टजेन्सीको रकम पारदर्शि नहुने हुँदा नागरिक समाजले यि कुराको खोजतलास गनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *