बक्तृत्वकला प्रतियोगितामा सोतकी सोनिशा प्रथम
मातृभूमी संवाददाता । १० माघ दैलेख
जेसिज दैलेखले सदरमुकाममा आयोजना गरेको सामाजिक रुपान्तरणका लागि युवाको भूमिका विषयक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि सोतकी सोनिशा थापाले प्रथम भएर ७ हजार ५ सय नगद पुस्कार हात पारेकी छन् ।
प्रतियोगितामा त्रिभुवन माविका सुजन खनालले ५ हजार रुपैंया सहित दोश्रो, बसन्त मावि किमुगाउँकी निशा रावतले तेश्रो भई ३ हजार रुपैंयाँ र रैनादेवी मावि टाटामाखुकी रोशनी बिष्टले सान्त्वना स्वरुप १ हजार पुरस्कार हात पारे ।
दैलेख जेसिज वर्ष सन् २०१७ का अध्यक्ष जेसी बिनोद श्रेष्ठका बुबा लालबहादुर श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता भएको हो । आफ्नो बुबाको सामाजिक योगदानलाई स्मरण गर्न नितान्त व्यक्तिगत खर्चमा प्रतियोगिता गराएको बिनोद श्रेष्ठले जानकारी दिए ।
विक्रम सम्वत् २०१४ सालमा जन्मिएका लालबहादुर श्रेष्ठ दैलेख सदरमुकामका प्रतिष्ठित व्यापारी भएको नाताले सामाजिक काम गर्दै आएका थिए । श्रेष्ठको ६१ वर्षको उमेरमा २०७५ माघ ८ गते निधन भएको थियो ।
दैलेख जेसिजका वर्ष २०२० का अध्यक्ष जेसी प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल, दैलेख उद्योग बाणिज्य संघका दैलेखका अध्यक्ष कुलबहादुर बिक लगायतका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका संघ संस्थालाई सम्मान गरिएको थियो ।