एमसीसी सम्झौता विरुद्ध दैलेखमा नेमकिपाकाे प्रदर्शन

मातृभूमी संवाददाता । १० माघ दैलेख
नेपाललाई साम्राज्यवादीहरुको युद्धमैदान बनाउने एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार जिल्ला सदरमुकाममा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम गर्दै शुक्रबार दैलेख बजार पुगेका पार्टी कार्यकर्ता समेतको सहभागितामा देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, असमान सन्धि खारेज गर, लिम्पियाधुरा हाम्रै हो, भारतीय सेना कालापनी छोड लगायतका नारा लगाइएको थियो ।
नगर परिक्रमा पछि आयोजित सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनता एकढिक्का हुनुपर्ने धारणा राखे । उनले हिन्द प्रसान्त रणनीति अन्तर्गत एमसीसी भएको भन्दै अब अमेरिकी साम्राज्यवादले नेपालमा परेड खेल्ने खतरा रहेको बताए । उनले संयुक्त राज्य अमेरिकाले आफ्नो रक्षा मन्त्रालय अन्तरगत हिन्द प्रसान्त सेनाको नेतृत्वमा नेपालमा स्थल सेना बनाउन खोजिएको भन्दै छिमेकी चीनविरुद्ध समेत लक्षित एमसीसी सम्झौता खारेजीको माग गरेका थिए ।
केन्द्रीय सदस्य गोसाईले लिम्पियाधुरामा नेपाली झण्डा अविलम्व फहराउनु पर्ने भन्दै भारतले नेपाली भूमि समेटेर तयार पारेको नक्सा खारेजीको निम्ति अन्र्तराष्टिय अदालत जानुपर्ने तर्क गरे । उनले कूटनीतिक पहलबाट मात्र समस्याको समाधान नहुने बताए ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले नेमकिपाले नेपालको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान गरेको इतिहास स्मरण गर्दै गाउँगाउँका जनता शासक दलहरुप्रति रुष्ट भएको बताए । उनले जनताको राजनीतिक चेतना उठाउन नेमकिपा सक्रिय भएको भन्दै एक दिन जनताको विजय सुनिश्चित रहको वताए । शाहीले तीन तहकै सरकारमा बर्चस्व कायम रहेको नेकपाको सरकार काँग्रेस भन्दा भ्रष्ट र सामन्तवादी शैलीमा उत्रिएको आरोप लगाए ।
नेमकिपा, दैलेख जिल्ला समितिले पार्टीको ४६ औं स्थापना दिवसको अवसरमा माघ ६ गतेबाट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अलग अलग राजनीतिक चेतना अभियान सञ्चालन गरेको थियो । यसै सिलसिलामा डुंगेश्वर गाउँपालिका, डुंगेश्वर र चुप्रामा माघ ७ गते कोणसभा गरेको थियो ।
त्यस्तै लाँकुरीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरिएको थियो । माघ ८ गते डुंगेश्वर गापाकै देउली र भगवतीमाइ गापाको वडाभैरव मावि र बेस्तडामा माघ ८ र ९ गते कोणसभा भएको थियो । जिल्लाको क्षेत्र नं १ को अभियानको नेतृत्व जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गरेका थिए ।
त्यस्तै क्षेत्र नं २ को अभियानको नेतृत्व नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले गरेका थिए । क्षेत्र नं २ को तिलेपाटाबाट सुरु अभियान अन्तरगत माघ ६ गते तिलेपाटा र दोस्रो ठाँटिकाँध, तेस्रो दिन चामुण्डाविन्द्रासैनी र चौथोे दिन दुल्लु नपामा कोणसभाहरु भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *