अलमलमै बित्यो ३३ महिना, सेवाग्राही निरास

मातृभूमी संवाददाता । १८ माघ दैलेख
दैलेखका ११ वटै स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै तिन वर्ष पुग्न लागेको छ । यहाँका स्थानीय तहका जनप्रतिनिधिको करिब तीन वर्ष अलमलमै बितेको छ । यहाँका स्थानीय तहमा कर्मचारीको र कानुनको अभावमा कार्य सम्पादनमा समस्या भएको गुनासो यथावत् छ । सुगम स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच आन्तरिक द्वन्द्वले अपेक्षाकृत काम हुन सकेको छैन ।
स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान अझै सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था भएपनि त्यसो हुन नसक्दा विकास निर्माण लगाएतका काममा वर्षेनी समस्या झेल्नु यहाँका स्थानीयत तहको नियमित जस्तै भैसक्यो ।
स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न कठिन बन्दै गएको स्थानीय शासन विज्ञको अनुभव छ । स्थानीय तहलाई पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने स्पष्ट मार्ग चित्र कोर्न नसक्दा यस्तो समस्या झेल्नु परेको हो ।

निराश सेवाग्राही

संविधानले र कानुनले स्थानीय तहलाई सरकारको हैसियत प्रदान गरे पनि सेवाग्राहीमा भने स्थानीय सरकारको कामप्रति निराशा बढ्दै गएको छ । स्थानीय सरकारप्रति नागरिकको आशा र अपेक्षा धेरै भएकाले पनि पूरा हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको हो । स्थानीय तहमा विकृति र विसङ्गति बढ्दै जाँदा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा सरेको गुनासो सेवाग्राहीको छ ।

केही अनुकरणीय काम

केही स्थानीय तहमा यस अवधिमा केही सकारात्मक र अनुकरणीय काम पनि भएका छन् । यहाँको भैरवी गाउँपालिकाले छोरी जन्मनासाथ वैंकमा पैसा हालिदिने गरेको छ । भगवतिमाई गाउँपालिकाले रोजगार वैंक स्थापना गरेको छ । गुराँस गाउँपालिकाले वेरोजगारहरुको तथ्यांक संकलन गरी रोजगार दिईरहेको छ । नारायण नगरपालिकाले घरका छानामुक्त कार्यक्रम संचालन गर्न लागेको छ भने गर्भवति महिलासँग उपमेयर कार्यक्रम संचालन गरिसकेको छ ।
यसरी विभिन्न अनुकरणीय काम र विवादका विच दैलेखका स्थानीय तहका जनप्रतिनिधिको ३३ महिना वितिसकेको छ । अवका २७ महिनामा जनताले प्रत्यक्ष रुपमा अनुभव गर्ने खालका विकासका काम नगरे आगामी चुनावमा जनताले यिनै जनप्रतिनिधिलाई अनुमोदन नगर्ने र नयाँ अनुहार खोज्ने स्थीति श्रृजना हुने स्थानीय टोपेन्द्र थापा वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *