जन्मदिनमा वृद्धाआश्रमलाई सहयोग

मातृभूमी संवाददाता । २२ माघ दैलेख
कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुसँग आफ्नो जन्मदिन मनाएका छन् । उनले जिल्ला स्थित सरस्वती वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई उपहार स्वरुप दराज प्रदान गरेर आफ्नो जन्मदिन मनाएका हुन् । पहिले देखिनै वृद्धाश्रममा सहयोग गर्न खोजिरहेको भएपनि अवसर नजुरेकोले जन्मदिनको अवसर पारेर सहयोग गरेको उनले बताए ।
उनले भने, ‘साथी भाईसँग जन्मदिनको अवसरमा पार्टीको आयोजना गर्दा यत्तीकै पनि दश, पन्ध्र हजार रुपैया खर्च हुन्छ, एकैछिनको मोजमस्तीमा हराउँछ तर त्यो रकमले व्यसाहारा वृद्धवृद्धाहरुलाई लामो समय सम्म सहारा बन्न सक्छ भन्ने सोचले यो सानो सहयोग गरेको हुँ’ । समाजमा पछाडी पारिएका समुदाय, व्यसाहारा, गरिब, उत्पिडितलाइ सहयोग गर्न पाउँदा आफु जहिले पनि उत्साहित हुने गरेको उनको भनाई छ ।
‘सामानहरु भुइमा छरिएर अस्तव्यस्त देखिएको थियो, अव दराजमा राख्न सजिलो हुने भयो’ वृद्धाश्रमकी कोषाध्यक्ष मेनका गौतमले भनिन् । दराज हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य माननीय अम्मर बहादुर थापाले जन्मदिनको अवसरमा यस्तो पुण्यको काम गरेर अत्यन्त सकरात्मक सन्देश प्रवाह गरेको भन्दै अनुरागलाई बधाइका साथै जन्मदिनको शुभकामना व्यक्त गरे । उनले यसरी यूवाहरुमा सहयोगको भावना आउनु निकै खुसीको कुरा भएको बताए ।
२०७१ सालमा स्थापना भएको वृद्धाश्रमले जेनतेन गरी भवन निर्माण गरेपनि आर्थिक अभावका कारण रंगरोगन, झ्याल, तथा ढोकाको काम गर्न नसकिएको वृद्धाश्रमकी अध्यक्ष सरस्वती श्रेष्ठले बताईन । उनले विभिन्न निकायसँग रकम माग गर्दा पनि सहयोग पाउन नसकिएको दुखेसो गरिन । भवनमा वत्ति जडान व्यवस्थित भएको छैन, माथिलो तलामा निर्माणको काम अलपत्र छ, आर्थिक अभाव भएकोले काम गर्न सकस भएको श्रेष्ठको भनाई छ ।
वृद्धाश्रममा हाल १ जना वृद्ध र १ जना चौकीदार गरी जम्मा २ जना बस्दै आएको उनले बताईन् । प्रत्येक दिन विहान करिब १५० जना स्थानीयहरु योग गर्न वृद्धाश्रमको भवनमा पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *