भारतबाट फर्केका नेपालीमा औलोको संक्रमण

मातृभूमी संवाददाता । २७ माघ दैलेख

दैलेखमा लामखुट्टेबाट सर्ने मलेरिया रोग लागेका ९ जना विरामी भेटिएका छन् । नेपालबाट निवारणको अवस्थामा रहेको भनिएको मलेरिया रोगका ति बिरामीहरु अधिकांश भारतवाट संक्रमित भएर आएको देखिएको छ । विरामीहरुको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

बिरामी मध्ये एक जना ५ वर्षका वालक छन् । लामो समय ज्वरोले थलिएका ति बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्तिवाल अस्पताल काठमाडौंको उपचारको क्रममा मलेरिया भएको पत्ता लागेको हो ।

मलेरियाका बिरामीहरु दुल्लु नगरपालिका, आठबिस नगरपालिका, महावु गाउँपालिका र डुंगेश्वर गाउँपालिकावाट भेटिएको जनाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले ति विरामीका कारण परिवार र छिमेकीलाई मलेरिया सर्न नदिन सर्तकता अपनाईएको वताए । मलेरियाका विरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जांच गरि सर्तक रहन सल्लाह र परामर्श दिएको उनले जानकारी दिए ।

जिल्ला अस्पतालका वरीष्ठ ल्याव असिष्टेन्ट टकवहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका ४ जना मलेरियाका विरामी भेटिएको र अन्य ५ जनाको जिल्लावाहिर उपचारको क्रममा मलेरिया भएको पत्ता लागेको हुँदा स्वास्थ्य सेवा कार्यालयले प्राथमिकता दिएर उनीहरुको उपचार र अन्य व्यक्तिलाई संक्रमण हुन नदिन नियमित रेखदेखमा ध्यान दिएको वताएका छन् ।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा. मदन कोइरालाका अनुसार, मलेरियाका ९ जना विरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रुपमा सचेतना बृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अधिकांश ज्याला मजदुरीका लागि भारत जाने र फर्किदा मलेरियाको विरामी भई फर्किने पाइएकोले उनीहरुको उपचार र उनीहरुवाट हुनसक्ने संक्रमणलाई रोक्न गम्भीर भएर लाग्नुपर्ने उनको भनाई छ ।

नेपाल सरकारको नीति अनुसार एक जनामात्र मलेरिया विरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निशुल्क उपचार गर्नुपर्ने साथै विरामीका कारण परिवार र छिमेकीमा सर्नवाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीवाट चेकजांच गर्नुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *