पर्यटकको रोजाईमा ‘लाफा होमस्टे’

भिम वहादुर सिजापति । २८ माघ दैलेख
दैलेखको दुल्लू नगरपालिकाको खागीतडामा सञ्चालन गरिएको लाफा होमस्टे विदेशी पर्यटकको रोजाइको केन्द्र बनेको छ । नेपाल भ्रमण वर्ष २०२० को आरम्भसंगै लाफा होमस्टेमा आन्तरिक पर्यटक भन्दा वाह्य पर्यटकहरुको चाप वढेको हो ।
अर्गानिक खाना तथा नास्ताका परिकार र रमणिय स्थानमा होमस्टे भएका कारणले होमस्टेमा विदेशी पर्यटकको चाप वढेको होमस्टे सञ्चालक कृष्णबहादुर थापाले वताए । ‘होमस्टेबाट लोहोरेखोला र छामघाट खोलाको दोभान र हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती भएकाले त्यहाँ पुगेका पर्यटक लोभिने गर्दछन्’ सञ्चालक थापाले भने, ‘जनजातीको मात्र बसोबास होमस्टेमा ढिडो, ढिकीमा कुटेको मकैको रोटी, टिमुरको अचार अर्गानिक खानेकुरा प्रशस्त आन्तरिक भन्दा बाह्रय पर्यटकको मुख्य रोजाईमा परेको हो ।’
यहाँका स्थानीय विदेशी र आन्तरिक पर्यटककसँगै होमस्टे सञ्चालनकोे आम्दानीमा बृद्धि हुन थालेको सञ्चालक थापको भनाई छ । होमस्टेमा दिनहुँ आउने आन्तरिक तथा बाह्रय पर्यटककले गर्दा आम्दानीमा बृद्धि भएको सञ्चालक थापाको भनाई छ ।
लोकल कुखुरा, लोहोरे खोलाका माछा, कोदोको वाइन् अर्गानिक खानेकुराले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको होमस्टेमा आर्कषण वढेको पाइन्छ । होमस्टेले गर्दा आम्दानी तथा गाउँको आर्थिक बृद्धी र प्रचार–प्रशारमा टेवा पुगेको वताउँछन् होमस्टे सञ्चालक सदस्य गगन थापा । होमस्टे सञ्चालनपछि खागीतडाबासीको मासिक ६० हजार देखी १ लाखसम्म आम्दानी हुने गरेको थापाले वताए । ‘शुरुमा होमस्टे सञ्लान गर्दा त को आउला भन्ने लागेको थियो’ उनले भने, ‘सञ्लान भएको एक महिनापछि पर्यटकको ओइरो लाग्न थाल्यो आजभोली आन्तरिक भन्दा पनि बाह्य पर्यटक बढी आउँछन् ।’
जिल्ला सदरमुकामदेखी ९ किलोमिटर पिच सडक ३ किलोमिटर कच्ची सडकमा सवारी साधन लिएर होमस्टे सजिलै पुग्न सकिन्छ । जिल्लामा सञ्चालित खागीतडा होमस्टे पहिलो हो । रारा र कर्णाली नदीमा ¥याप्टिङ्गका लागि जाने आन्तरिक र बाह्य पर्यटकका लागि दुल्लू नगरपालिका कर्णाली राजमार्गमा अर्को होमस्टे खोलिएको दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।
आर्थिक बृद्धि हुनुका साथै खागीतडा गाउँको नाम परिवर्तन भएर आजभोली लाफा होमस्टे गाउँ भनेर चिनिन थालेको मेयर भण्डारीको भनाई छ । त्यहाँ १६ घरधुरी मिलेर होमस्टे सुरु गरेका छन् । शूरुमा पाहुनाहरु आउदैनन् की भनेर चिन्ता मानिरहेको त्यस होमस्टेका सञ्चालकहरु अहिले पर्यटकको घुइचोले भ्याई नभ्याई छ ।
एकपछि अर्को गर्दै दिनहुँ जसो पाहुनाहरु आउन थालेपछि भ्याई नभ्याई भएको सञ्चालकहरुको भनाई छ । प्रत्येक घरमा लोकल कुखुरा, माछादेखी लोकल उत्पादनहरु परिकारका रुपमा पकाईन्छ भने पर्यटकहरु आउँदा उनीहरु साँझ आफ्नै भेषभुषामा सांस्कृतीक कार्यक्रमहरु समेत देखाएर मनोरञ्जन दिने गरेका छन् ।
१० जनाभन्दा धेरै पाहुना आएमा अरु घरमा समेत विभाजन गर्ने उनिहरुको परम्परा छ । बढीमा एक सयसम्म पाहुनालाई एक रातमा बस्ने सुविधा छ । होमस्टे सञ्चालनदेखि हालसम्म झण्डै ६ हजार आन्तरिक तथा वाह्य पर्यटकहरु होमस्टे भित्रिएका छन् ।
सदरमुकाम नजिकै भएकाले होमस्टेमा पर्यटकहरुको रोजाईमा परेको वताउँछन् पर्यटन पत्रकारसँग दख्खल राख्ने पत्रकार अभिषेक अनुराग । सदरमुकाममा महगों बसाईभन्दा सस्तो तथा अर्गानिक खानपानका लागि वाह्य पर्यटकको पहिलो रोजाई वनेको उनि वताउँछन् । ‘प्रचार–प्रसार ब्यापक भए रारा पुगेर फर्कने पर्यटकहरु दैलेखको ज्वालाजी दर्शन गरि एक रात होमस्टे बसेर नेपालगञ्ज पुग्न उत्तम रुट हो’ अनुरागले भने, ‘अहिले यहाँ अग्रिम बुकिङ्ग गरेर आउने आन्तरिक तथा वाह्य पर्यटकको चाप वढेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *