सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा, मच्छिन्द्र लिगको शीर्ष स्थानमा
मातृभूमी संवाददाता । २८ माघ दैलेख
शहीद स्मारक ए डिभिजन लिग फुटबलको जारी संस्करणबाट सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै सरस्वती बी डिभिजनमा झरेको हो ।
नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहने सम्भावनालाई जिवितै राख्न च्यासललाई हराउनु पर्ने दवावमा रहेको सरस्वती पराजित भएपछि एक खेलअघि नै रेलिगेशनमा परेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासललाई जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे ।
सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए । सरस्वती रेलिगेशनमा परेसंगै ब्रिगेड ब्वाइज बीबीसी र सशस्त्र प्रहरीको एपिएफ सुरक्षित भएका छन् । १४ टोली सहभागी लिगबाट पुछारको एक टिममात्र रेलिगेशनमा पर्ने भएकाले अन्य क्लबहरु सुरक्षित भएका हुन् । २०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती त्यसैवर्ष घटुवा भए पनि २०६८ साल यता ए डिभिजनमा थियो ।
यसैबीच उपाधिको दावेदार मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा पुगेको छ । सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटा क्लबमाथि ३–१ को जित निकाल्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ्ग, विशाल राई र दीपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले सान्त्वना गोल फर्काए ।
जितले मछिन्द्रको १२ खेलबाट २८ अंक भएको छ । ११ खेलबाट २६ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ्ग मस्र्याङ्दी क्लबको ११ खेलबाट २२ अंक छ । मनाङ्ग दुई खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ । मनाङ्गले बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र र आर्मीबीच अन्तिम भिडन्त हुने भएकाले उपाधि मनाङ्गको भागमा पर्ने छैन ।
सोमबार भएको अर्को खेलमा सशस्त्र प्रहरीले फ्रेन्ड्स क्लबलाई ५–२ ले हरायो । सशस्त्रका लागि आशिष लामा र प्रविणकुमार स्याङतानले २÷२ तथा कप्तान टोपबहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल फर्काए । लिग अन्तरगत (आज) मंगलबार दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले न्यूरोड टिम एनआरटीसंग तथा दिउँसो साढे ३ बजे मनाङ्गले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।