दैलेखमा डोजर र जिप दुर्घटना ६ जना घाईते
मातृभूमी संवाददाता । ६ फागुन दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर दुर्घटना भएको छ । सडक विभाग अन्र्तगत ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्क स्थित पिपल चौतारा भन्ने ठाउँमा सोमबार बिहान ५ बजेतिर डोजर दुर्घटनामा परेको हो । अँध्यारो समयमा सडक खन्दा डोजर चिप्लियर सडक भन्दा करिब २० मिटर तल पुगेको प्रहरी चौकि ठाटीकाँधले जानकारी दिएको छ ।
दुर्घटनामा डोजर चालक गुराँस गाउँपालिका ३ का ५४ बर्षिय विकास मल्ल र सोही गाउँपालिका ५ का २३ बर्षिय सहचालक नरेश कुमार भण्डारी सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरी चौकि ठाटीकाँधका प्रहरी सहायक निरिक्षक रत्न खड्काले बताए ।
डोजर सहचालकले चलाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । डोजर नयाँ भएकोले नम्बर प्लेट नभएकोे बताईएको छ ।
यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ दुल्लु, दैलेखको गाडी दुर्घटनामा परेको छ । कार्यालयको बा १ झ ६५५७ नम्बरको इसुजु गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पपरी कार्यालयका चार जना कर्मचारी घाईते भएका छन् ।
दुर्घटनामा परी चार जना घाइते भएको दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए । गाडी ब्रेक फेल भई दुल्लु स्थित कृषि डाँडाबाट ५० मिटर तल दुल्लु नगरपालिकाको कार्यालय नजिकै खसेको प्रहरीले जनाएकोे छ ।
दुर्घटनामा चालक गोकुल खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ दुल्लु, दैलेखमा कार्यरत माधव रिजाल, सुरेन्द्र रिजाल र विक्रम रिजाल घाईते भएका हुन् । घाइते सबैको दुल्लु अस्पतालमा उपचार पश्चात तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएकोे दैलेख प्रहरीले जनाएको छ ।