राउटे समुदाय : ‘जुरेन लगन’
मातृभूमी संवाददाता । ११ फागुन दैलेख
विमला शाही (२८) राउटे समुदायकी सुन्दर युवती हुन् । राउटे बस्तीमा गएका अधिकांश गैरराउटेको नजर तिनै सुन्दरीमा पर्छ । नयाँ मान्छेले निहाल्यो भने उनी मुस्कुराउँ छिन् । चिनजान नभएको व्यक्तिसँग हत्तपत्त नबोल्ने संस्कार छ ।
नुहाई धुवाई गर्ने, कपाल कोर्ने सफाचट्ट पहिरहनले गर्दा उनी सबैको नजरमा परेकी हुन् । नाडीभरि गिल्टीका चुरा र कानमा गिल्टीका बालीको पहिरहन छ । यो समुदायका महिला सुन, चाँदी गरगहना प्रयोग गर्दैन । यसो हेर्दा ती युवतीलाई कुनै चिजको अभाव छैन । अभाव छ त दुलाहाको । हँसिलो देखिने विमला कहिलेकाहिँ निराशा देखिन्छिन् । बिहेका लागि विमलाले अझै ८ वर्ष पर्खिनुपर्ने छ । तर लगन कहिल्यै जुर्ने हो, निश्चित छैन । बिहे गरी दुलहीको रुपमा सजिने उनको ठुलो सपना छ ।
सपना पूरा गर्न ८ बर्ष पर्खिनुपर्ने छ । कहिले आठ बर्ष बित्ला दुलही हौला भन्ने उत्सुकता उनीमा छ । उनीसँग जात मिल्ने केटाहरु रास्कोटी जातिका कम उमेरका छन् । विमला कल्याल जातकी युवती हुन् ।
कल्याल जातका राउटे युवामा बिहे गर्नका लागि केटीका तछाड मछाड हुन्छ । रास्कोटी जातका सानै उमेरका केटीलाई उनीहरुले अन्य केटाले बिहे नगरुन भन्न ध्येयले फलानो केटीलाई मैले मन पराए भन्छन् । एकजनाले मन पराएको केटी अन्यले मन पराउन यो समुदायमा बन्देज छ । कल्याल जातका १२ जना युवक चार जना युवती अझै अविवाहित छन् ।
केटी अभावले सातवर्ष अघि ३२ वर्षिय राउटे युवा प्रकाश शाही लौकी शाहीसँग विवाह बन्धनमा बाँधिए । दाङमा मन पराएका प्रकाशले सल्यानको सल्लीपाखमा विवाह गरे । कोही अरु केटा मन पराई हाल्छकी भनेर मैले मन पराएको छु भनेपछि बिहे भयो । राउटेको गैरराउटेसँग बिहेवारी हुदैन ।
राउटे समुदायमा ३ जाति रहेका छन् । कल्याल, रास्कोटी र समाल । कल्याल जातिको बिहेवारी रास्कोटी र समाल जातिको विहेवारी कल्याल जातिसँग हुन्छ । समाल जातिको संख्या न्यून छ । सबैभन्दा बढी राउटेवस्तीमा कल्याल जातीको संख्या छ । रास्कोटी जातिमा केटा र केटीको संख्या न्यून रहेकाले कल्याल जातिका युवा र युवतीले अविवाहित बस्नु परेको हो ।
राउटे युवती विमला र वापिला मात्र होइन । महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही, बीरबहादुर शाहीका छोरा कपिल शाही, दिपक शाही र अन्य युवक खगेन्द्र शाही र प्रेमबहादुर शाहीलाई पनि बिहेको चिन्ताले सताउने गरेको छ । हामीले आफ्नो जातीमा बिहे गदैनौं ।
रास्कोटी जातीमा विहे गर्ने केटी सानो छ अनि विहे कसरी गर्न शिवराज शाहीले दुखेसो पाखे । ३५ वर्षमा मेरो दाई नारायणले ११ बर्षिय मिहिन शाहीलाई बिहे गरेको खुलासा गरे । छोराको बिहेको चिन्ता शिवराज शाही मात्र होइन उनका बाबु महिनबहादुर शाहीलाई पनि लाग्ने गरेको छ । रास्कोटीमा कम उमेरका केटी छन् । छोराको उमेर छिपिसक्यो विहे लागि बाबु महिन शाहीले चिन्ता गरे । आफ्नै जातिमा बिहे गर्ने हुनाले राउटे समुदायमा एउटा उखान खुबै चर्चा पाउने गरेको छ । ‘पानी खानी मुलको विहे गर्नु कुलको’
रास्कोटी जातिमा केटा र केटीको अभावमा कल्याल जातिका उमेर पुगेका केटाकेटीले अविवाहित बस्नुपर्ने बाध्यता छ । उमेरले ३४ काटिसकेका शिवराज बेलाबेलामा विवाह नहुने चिन्ताले पिरोल्ने गरेको उनको भनाइ छ । मलाई हरेक महोत्सव जाँदा गैरराउटेको केटीले विहे भयो कि नाई भनेर सोध्छन् ।
मेरो मन दुख्ने भएकाले सबैलाई भयो दुई छोराछोरी छन् भनेर उत्तर दिने गरेको छु, उनले थपे । राउटे समुदायको संख्या १ सय ४८ रहेको छ । जस मध्ये ५४ युवायुवती रहेको समुदायमा अविवाहित युवायुवती दुई दर्जनभन्दा बढी रहेको राउटे समुदायमा लामो समयदेखी काम गर्दै आएका पत्रकार भक्तबहादुर शाहीले बताए ।
दैलेखको गुराँस गाउँपालिकाबाट लोपोन्मुख जातिको परिचयपत्र लिएका राउटे आजभोलि सुर्खेतको निगालखोला र सोतखोलाको जंगलमा बसोबास गरिरहेका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा भ्रमणशील जीवन बिताउँदै आएका यो समुदाय अधिकांश दैलेख जिल्लामा बस्ने गर्छन् ।