घुस रकम सहित नौमूलेमा प्रधानाध्यापक पक्राउ
मातृभूमी संवाददाता । १५ फागुन दैलेख
दैलेखको नौमुले गाउँपालिकाका एक प्रधानाध्यापकलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलार्ई विहिवार ३० हजार रुपैयाँ घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटक–पटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो । सुर्खेत कार्यालयबाट खटिएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका १ स्थित एनएमबी बैकको शाखा प्रबन्धकको कार्य कक्षबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।