वालवालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइदै
मातृभूमी संवाददाता । १६ फागुन दैलेख
दादुरा र रुवेला विरुद्धको खोप अभियान दैलेखमा सुरु हुने भएको छ । पहिलो चरणमा चैत्र ७ र दोस्रो चरणमा चैत्र १५ गते देखी खोप अभियान संचालन हुने भएको हो । जिल्ला समन्वय समिति दैलेखमा भएको अन्र्तक्रिया कार्यक्रममा दादुरा र रुबेला रोग निवारण गर्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
अभियानमा ९ महिनादेखि ५९ महिनासम्मका (पाँच वर्ष मुनिका) सबै बालबालिकालाई लगाइने खोप कार्यक्रम दैलेखमा दुई चरणमा गरि खोप लगाईने छ । पहिलो चरणमा चैत्र ७ गते देखि दुल्लु, चामुण्डा विन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाटीकाँध गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै दोस्रो चरणमा चैत्र १५ गते देखि भैरबी, महाबु, नौमूले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका तथा नारायण नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछ ।
दैलेखमा यस पटक ३२ हजार ७ सय २० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप अधिकृत रेग्मीले बताए । उनका अनुसार दैलेखमा ५ सय ४० वटा खोप केन्द्र मार्फत बालबालिकालाई दादुरा र रुबेला खोप दिइनेछ । यसअघि खोप लगाएको भए पनि यो अभियानमा दादुरा र रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेख आग्रह गरेको छ ।
खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले रोगमुक्त जिल्ला बनाउन सवै सचेत र सवैले पहल गर्न जोड दिए ।