कर्णालीका चार मुख्य नाकामा कोरोना चेकजाँच
मातृभूमी संवाददाता । फागुन २२ दैलेख
विश्वका धेरै देशमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन कर्णाली प्रदेश भित्रिने मुख्यनाकाहरूमा चेकजाँच र स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्ला सहित ४ वटा नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागिएको छ ।
चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरू भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गर्न हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारले गरेको छ ।
ती नाकामा औषधि सहित खटिने स्वास्थ्यकर्मीको टोलीले आवतजावत गर्ने हरेक नागरिकलाई सचेतनामूलक सन्देश प्रवाह गर्ने र शंकास्पद व्यक्तिको स्वास्थ्य चेकजाँच पनि गरिने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।
उनले हेल्थ डेस्कमा आवश्यक सामग्री तथा औषधि सहित स्वास्थ्यकर्मीको टोली संवेदनशील मानिएको नेपाल र चीनको सीमा हिल्सा नाकामा तत्काल पठाउने तयारी गरिएको वताइन् । ‘अपुग हुनसक्ने थप सामग्री खरीद गर्ने तयारी गरेका छौं, निर्देशक जोशीले भनिन्, ‘ती नाकामा कुनैपनि कुराको अभाव नहुने गरी हेल्थ डेस्कको व्यवस्थापन हुनेछ ।’
कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न कर्णाली प्रदेश अस्पतालमा दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष बैठकबाट प्रदेशमा कोरोना भाइरसलाई नियन्त्रण गर्न विशेष सतर्कता अपनाउने निर्णय गरेसँगै ती नाकाहरूमा हेल्थ डेस्क संचालन गर्न लागिएको बताइएको छ ।
हुम्लामा कोरोनाको शंकापछि चिकित्सकको टोली पठाइयो
चीनको वुहान प्रान्तबाट फैलिएको कोराना भाईरसको त्रास कर्णालीमा बढ्दै गएको छ । हुम्ला जिल्लामा चीनबाट भागेर आएका एक नागरिकलाई कोरोना भएको हुन सक्ने शंकापछि हुम्लाबासी त्रसित भएका छन् । हुम्लामा कोरोना संक्रमणको बिषय बाहिर आएपछि अबस्था बुझ्न जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ ।
डाक्टर अशोक गौतम सहितको तीन जनाको टोलीलाई हुम्लाको अबस्था बुझ्नका लागि पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । गत साता चीनको सिमाना नजिकैबाट हुम्ला आएका सिमकोट गाउँपालिका ३ का लामा थर गरेका व्यक्तिलाई कोरोना हुन सक्ने शंकापछि हुम्लाबासी त्रसित भएका हुन् ।
उनलाई हालसम्म स्वास्थ्य संस्थाकै निगरानीमै राखिएपनि भाईरल ज्वरो फैलिएकाले अबस्था बुझ्न चिकित्सकको टोली आजै जुम्लाबाट हुम्ला गएको छ । चीनबाट उनि एक व्यक्ति एकाएक आईसकेपछि हुम्लामा कोरोनाको त्रास बढेपछि प्रतिष्ठानले जुम्लाबाट चिकित्सकको टोली पठाएको रजिष्टार विश्वराज काफ्लले बताए ।
जुम्ला पुगेका कर्णालीका आन्तरिक मालिा तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीका हरेक विमानस्थलदेखि नाका नाकामा क्वाईन्टाईन राख्ने तयारी भएको बताए । प्रतिष्ठानदेखि प्रहरी प्रशासनलाई कोरोनाबाट बच्न पूर्व तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।