दैलेख–सुर्खेत सिमानामा जिप दुर्घटना तीनको मृत्यु, चार जना घाईते
मातृभूमी संवाददाता । फागुन २२ दैलेख
जिल्लाको गुराँस गाउँपालिका ८ धरमपोखरा बजारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको जिप दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ ज–०००७ नम्बरको जिप दैलेख–सुर्खेतको सिमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो । सात यात्रु सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
अन्य चारजना घाइते भएको दुर्घटना स्थलमा खटिएका ट्राफिक प्रहरी कुवेर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका १५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन् ।
दुर्घटनाका घाइतेको वीरन्द्रनगर स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।