गरिवीले शिशुको चेकजाँचमा समस्या

मातृभूमी संवाददाता । २८ फागुन दैलेख
भगवतीमाई गाउँपालिका ४ मन्घरकी २१ वर्षीया लक्ष्मी बिकले मंगलवार विहान ११ बजेतिर पहिलो सन्तानको रुपमा घरमै छोरीलाई जन्म दिएकी थिइन् । लक्ष्मीका श्रीमान् २२ वर्षीय गोपाल बिक एक महिना अघि मात्र रोजगारीका लागि दुबई गएका छन् । उनले जन्म दिएको शिशुको गरिवीका कारण उपचार तथा स्वास्थ्य परिक्षणमा समस्या भएको छ ।
चरम गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न समस्या भैरहेको परिवारले जनाएको छ । वच्चाको स्वास्थ्य परिक्षण र उपचारमा चरम गरिवीका कारण समस्या भैरहेको अधिकारकर्मी पत्रकार अमर सुनारले जानकारी दिए ।
अधिकारकर्मी पत्रकार सुनारले भने, ‘दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले फोटोको आधारमा नवजात शिशुलाई ‘कञ्जेनाइटल डिफेक्ट’ भएको बताउनुभएको छ ।’ टाउकोको पछिल्तिर दुई वटा झण्डै टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको हेर्न आउनेको भीड हुने गरेकोले जन्म दिने आमा र परिवारजनले झनै खिन्नता महशुस गरेको परिवारले वताएका छन् ।
लक्ष्मीका श्रीमान् वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तरवार्ता र मेडिकल गर्न पटक–पटक काठमाण्डौं आउजाउ गर्न र र दुबई उडान समेत गरी २ लाख भन्दा बढी ऋण लागेको यसै बेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा नपाएको लक्ष्मीकी सासु रत्ना कामीले बताइन् । लक्ष्मीको घरमा दुई जना अमाजु, तीन जना नन्दहरु र सासु–ससुरा समेत नौ जनाको परिवार ससुरा डिलबहादुर कामीको दैनिक मजदूरीले जेनतेन खर्च धानिएको छ ।
नेपालगञ्ज वा काठमाण्डौंमा नसा रोग बिशेषज्ञ कहाँ पु¥याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाइएको तर परिवारजनले ऋण खोजेर समेत नपाएको कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन बिकले बताए ।
जगनाथ स्वास्थ्य चौकीमा गर्भवती भएदेखि ४ पटन नियमित रुपमा जचाएको तर मंगलवार अकस्मात् व्यथा लागेर तुरुन्तै बच्चा जन्मिएका कारण घरमै सुत्केरी गराइएको परिवारजनले बताएका छन् । टेलिफोनमा कुरा गर्दै लक्ष्मीले नवजात शिशुको स्वास्थ्य अवस्था ठीक भएपनि आफूलाई तारन्तार पखाला लागेर हैरान भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *