हावाहुरीले घरको छाना उडाएपछि बिचल्ली
मातृभूमी संवाददाता । १ चैत्र दैलेख
शुक्रवार आएको हावाहुरीले नारायण नगरपालिका ९ बाँस्कोटकी बसन्ती सुनारको घरमा लगाइएको टिनको छाना उडाएपछि परिवारको बिचल्ली भएको छ । हावाहुरी चलेको बेला परिवारका ७ जना सदस्यहरु घरभित्रै भएको कारण मानवीय क्षति नभएको बसन्तीले बताएकी छन् । उनले भनिन्, ‘आफू, सासु र ५ जना बालबालिका घरभित्रै थियौं, कसैलाई चोट लागेन ।’
घरमुली दलबहादुर सुनार उपचारको लागि कोहलपुर गएको, बसन्तीका श्रीमान्, उनका देवर मजदूरीका लागि भारतमा रहेको बेला अघिल्लो वर्ष ४ लाख रुपैंयाँ खर्च गरी वनाईएको घर वनाईएको थियो । हावाहुरीले छाना अड्याउन प्रयोग भएका बला, कडी लगायतका काठहरु समेत उजाडिएको कारण माथिल्लो तलका ३ वटै कोठा भत्किएको छन् ।
माथिल्लो तला उजाडिएको कारण त्यहाँ भएका कपडा र अन्नपातमा समेत नोक्सानी पुगेको प्रभावित परिवारले बताएका छन् । त्यो घरमा भूईं तलाका ३ वटा कोठा भान्सा र माथिल्लो ३ कोठा सुत्नका लागि प्रयोग गरिंदै आएको थियो । बाँस्कोट गाउँका उत्तर मोहडा फर्किएका अरु केही घरहरुमा पनि सामान्य क्षति पुगे पनि छाना उडाएको चाहिं बसन्तीको घरमा मात्र हो ।
यस्तै जिल्लाका विभिन्न स्थानमा हावाहुरीले घरको छाना उडाएको खवर प्राप्त भएका छन् । जिल्लाको भगवतिमाई गाउँपालिकाको वडाभैरवमा रहेको खगेना वर्थिङ सेन्टरको छाना पनि उडाएको छ । वडाभैरव स्वास्थ्य चौकीका ईन्चार्ज हिक्मत खत्रीका अनुसार वर्थिङ सेन्टरको छाना आंसिक रुपमा हावाहुरीले उडाएको छ ।
यता खालीडाँडामा रहेको गाउँघर क्लिनिकको छाना पुर्णरुपमा उडाएको ईन्चार्ज खत्रीले जानकारी दिएका छन् । हावाहुरीले स्वास्थ्य भवनका छाना उडाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्य हुने खत्रीको भनाई छ ।